दुर्गा प्रसाईं समातिएकोमा ज्ञानेन्द्रको दु:खेसो
पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले दुर्गा प्रसाईंको गिरफ्तारीलाई राज्य आतंकको संज्ञा दिँदै सरकारको विरोध गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फिँजाएको आरोपमा सिआइबीको टोलीले आज बिहान प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर ज्ञानबहादुरले आपत्ति जनाएका हुन्।
ओली सरकारलाई संदेश भन्दै उनले लेखेका छन्, 'कुनै पनि व्यक्तिलाईलाई बिनाकारण पक्राउ गर्ने सरकारको जुन रबैया छ यो क्रुर, तानाशाही,अप्रजातान्त्रिक, राज्य आतंक हो ।'
बिधिको शासनमा अदालतबाट पक्राउ पुर्जी लिएर मात्र समात्न मिल्ने भए पनि प्रसाईंलाई अप्रजातान्त्रिक ढंगले गिरफ्तार गरिएको उनको तर्क छ । प्रधानमन्त्रीविरुद्ध बोलेकै कारण सरकारले कुण्ठा साँध्न गैरकानुनी तवरले समातेको जिकिर गर्दै उनले प्रमाण नष्ट गर्ने यसो गरिएको हुनसक्ने आशंकासमेत गरेका छन् ।
'यदि कुनै व्यक्तिले प्रधानमन्त्री वा सरकारका बिरुद्ध कुनै गतिविधि प्रसारण वा प्रचार गरेमा उक्त कुरा अप्रमाणित गर्न महान्यायाधिवक्ता कार्यलय अदालत जान सक्ने कानुनी प्रवधान छ', ज्ञानबहादुरले लेखेका छन्, 'त्यसपछि मात्र यदि उक्त कुरा झुटो सावित भए उक्त व्यक्ति वा संस्थालाई पक्राउ गर्न सकिन्छ ।'
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा २१ करोड अमेरिकी डलर (नेपाली ३२ अर्ब) लगानी गरेको दावी गर्दै हिजो प्रसाईंले केही डकुमेन्टहरु सार्वजनिक गरेका थिए । ती सबै डकुमेन्ट फेक भएको पाइएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रसाईविरुद्ध विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरेर मुद्दा चलाउने प्रहरीको तयारी छ । किर्ते कागजात र मानहानीको कसुरमा पनि मुद्दा लगाइने सम्भवना छ ।
टिप्पणीहरू