रास्वपाको ऐक्यवद्धताप्रति सहकारी पीडितको कटाक्ष

रास्वपाको ऐक्यवद्धताप्रति सहकारी पीडितको कटाक्ष
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी बचतर्कता संरक्षण राष्ट्रिय अभियानको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

अभियानले गर्न लागेको काठमाडौँ केन्द्रित आन्दोलनको पूर्वसन्ध्यामा आज विज्ञप्ति सार्वजनिक गर्दै रास्वपाले ऐक्यवद्धता प्रकट गरेको हो । बचत फिर्ताका लागि सरकारलाई खबरदारी गर्न अभियानले भोलि काठमाडौँमा आन्दोलन गर्दैछ । 

सहकारी समस्याको समाधानका लागि राज्य जिम्मेवार नभएको रास्वपाले ठहरसमेत गरेको छ । 

कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमा लेखेका छन्, ‘सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानुन इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको हाम्रो पार्टीको ठहर छ ।’

सहकारी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाएको रास्वपामाथि कतिपयले भने दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सहकारी ठगीको आरोपमा समातिएका रवि लामिछानेलाई छुटाउन रास्वपा एक महिनादेखि सडकमा उत्रिएको छ । साेही सन्दर्भ जोड्दै सहकारी पीडित विनोद कार्कीले रास्वपाले सहानुभूतिको लागि दोहारो चरित्र देखाइरहेको बताए । 

'एकातिर सहकारी पीडितले न्याय पाउनुपर्छ भन्दै ऐक्यवद्धता जनाएको जस्तो गर्ने, अर्कोतिर आफैँ सहकारी ठगको पक्षमा प्रदर्शन गर्ने, यस्तो दोहोरो चरित्र हामीलाई पच्दैन’, उनले भने । 

त्यस्तै, अर्का सहकारी पीडित जानकी परियारले पनि रवि जोडिएको सहकारीबाटै बचत फिर्ताको प्रक्रिया शुरु गर्न रास्वपालाई सुझाएकी छिन् । ‘हिम्मत छ भने घण्टीवालाहरुले उनकै सभापति जोडिएको सहकारीका बचतकर्तालाई पैसा फिर्ता गरुन्, सक्दैनन् भने ऐक्यवद्धताको नौटंकी नदेखाए हुन्छ’, उनकाे प्रतिक्रिया छ ।

टिप्पणीहरू