स्पष्टीकरणका लागि काँग्रेस सांसदलाई सानेपा बोलाइयो
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्री पाण्डेमाथि भ्रष्टाचार आरोप लगाएका नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंसँग स्पष्टीकरण सोधिएको छ ।
काँग्रेस अनुशासन समितिले आज दिउँसो पार्टी कार्यालयमा बोलाएर उनीसँग स्पष्टीकरण मागिएको छ । सांसद बजगाईंले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै मन्त्री पाण्डेले रुपन्देहीको रोयल टाइगर क्रियसन प्रालिलाई क्यासिनो सञ्चालनको इजाजत दिँदा करोडौँ घुस खाएको दाबी गरेका थिए । क्यासिनो सञ्चालकलाई काँग्रेसकै एक नेताको घरमा पैसा पुर्याउन मन्त्री पाण्डेले निर्देशन दिएको दावीसहितको स्टाटस उनले फेसबुकबाट हटाइसकेका छन् ।
यही प्रसङ्गमा बजगाईंलाई स्पष्टीकरण सोधिएको अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले जानकारी दिए । उनका अनुसार शुरुमा लिखित स्पष्टीकरण सोध्ने निर्णय भए पनि बजगाईंले गल्ती महशुस गरेपछि मौखिक जवाफ मागिएको छ । तर, बजगाईंले आफैँले दुई दिनभित्र लिखित जवाफ पेश गर्ने बताएका छन् ।
‘आज दिउँसो पार्टी कार्यालयमा बोलाएर छलफल गयौँ, के कसरी सन्दर्भ आएको हो वा भनिएको हो भनेर’, ढुंगानाले जनआस्थासँग भने, ‘उहाँले गल्ती महशुस गरेको सुनाएपछि हामी मौखिक स्पष्टीकरणमै सीमित भयौं, उहाँले चाहीँ लिखित जवाफ बुझाउछु भन्नुभएको छ ।’
आफ्नै पार्टीका सांसद तथा मन्त्रीको सम्बन्धमा कुनै गम्भीर कुरा वा विषय भए पहिला पार्टीलाई जानकारी गराउन सचेत गराइएको पनि ढुंगानाले बताए ।
‘तपाईंलाई पार्टीका कोही साथीहरुको विषयमा केही गम्भीर कुरा गर्नु परिहाल्यो भने यहाँ अनुशासन समिति छ, कार्य सम्पादन समिति छ, संसदीय दल छ । सिधै नेतृत्व पंक्तिलाई जानकारी गराए पनि हुन्छ भनेर सचेत गराएका छौं’, उनले भने, ‘यसले पार्टीको मर्यादा र अनुशासनलाई कायम राख्छ, नत्र सबैले मनलाग्दो फेसकुबमा लेख्दै वा भन्दै जाने हो भने पार्टीका विधि, आचारसंहिता, अनुशासन के को लागि ? उहाँले यो सबै कुरा रियलाइज गरिसक्नुभयो । अब यो विषयमा थप विवाद आउँदैन ।’
अनुशासन समितिको मौखिक सोधपुछ पश्चात महामन्त्री गगन थापाले पनि बजगाईं आगामी दिनमा सचेत रहने विश्वास व्यक्त गरेका छन् ।
टिप्पणीहरू