कोशीमा दनदनी आगो बाल्ने चेतावनी

कोशीमा दनदनी आगो बाल्ने चेतावनी

कोशी नाम खारेजीको माग गर्दै पहिचानवादीहरुले पूर्वमा फेरि दनदनी आगो बाल्ने चेतावनी दिएका छन् । पहिचानवादीहरुले विराटनगरमा आमसभा गरेर दनदनी आगो बाल्ने घोषणा गरेपछि पुनः आन्दोलनको सम्भावना बढेको छ । 

सरकारले कोशीको नाम खारेजी गरेर पुनः नामाङ्कनको प्रक्रिया शुरु नगरेसम्म सडक संघर्ष गर्ने उनीहरुको भनाई छ । त्यसैगरी, प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउ र अनिश्चितकालीन आमहड्ताल गर्ने आन्दोलनको स्वरुप रहेको बताइन्छ ।

कोशी नामको पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यलाई निर्वाचन क्षेत्रमा निषेध गर्ने, सार्वजनिक कार्यक्रममा सहभागी भएमा प्रतिरोध गर्ने चेतावनी पनि दिइएको छ । पहिचानवादीहरुले विभिन्न स्थानमा लेखिएको ‘कोशी’ हटाउन र कोशी नामको लेटरप्याड र छाप नचलाउन कार्यालय प्रमुखहरुलाई पहिले अनुरोध गर्ने छन् ।

 अटेर गर्ने कार्यालय प्रमुखलाई स्पष्टीकरण सोधिने भनिएको छ । २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम दुई तिहाइभन्दा बढी बहुमतबाट कोशी राखिएको थियो । प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाउँदै पहिचानवादीहरुले आन्दोलन गरिरहेका छन् । 

सो क्रममा गत वर्ष पदमकुमार लिम्बु ‘लाजेहाङ’ को मृत्यु भएको थियो । त्यसैगरी, डेढ सयभन्दा बढी आन्दोलनकारी र केही सुरक्षाकर्मी घाइते भइसकेका छन् ।

टिप्पणीहरू