जापानमा उपचार गराएर आरजू म्याडम बेइजिङतिर

जापानमा उपचार गराएर आरजू म्याडम बेइजिङतिर

परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा चीन भ्रमणअघि जापान जान लाग्नुभएको छ । उहाँ स्वास्थ्य उपचारको निम्ति जापान जाने र त्यतैबाट मंसिरको दोस्रो साता चीनतिर निस्कने गरी सेड्युल मिलाइएको छ । 

उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तयारीका लागि बेइजिङ पुग्न लाग्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण मिति र एजेन्डाबारे औपचारिक सूचना सार्वजनिक गरेर उहाँ जापान हुँदै चीन जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

आज साँझ बालुवाटारमा सम्पन्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका प्रमुख नेताहरुबीचको भेटमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र सरकार सञ्चालनबारे कुराकानी भएको बुझिएको छ । 

बालुवाटार भेटमा प्रधानमन्त्रीसहित एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको उपस्थिति थियो । काँग्रेसकातर्फबाट सभापति शेरबहादुर देउवा,महामन्त्री गगन थापा र परराष्ट्रमन्त्री राणा बस्नुभयो । 

प्रधानमन्त्री ओली र सभापति देउवाबीच हिजो साँझ पनि बालुवाटारमा भेटवार्ता भएको थियो ।

टिप्पणीहरू