दुर्गा प्रसाईंलाई हिजोको सट्टा आज अदालतमा उभ्याईंदै
विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई अदालतमा लैजाने तयारी गरिएको छ । उनलाई म्याद थपका लागि अदालत पुर्याइने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा हिजो पक्राउ परेका प्रसाईंलाई हिजै अदालतमा उपस्थित गराउने तयारी थियो । तर, अस्पतालमा स्वास्थ्य परीक्षणलगायत अन्य कागजात र प्रक्रिया मिलाउने क्रममा कार्यालय समय समाप्त भएको बताइन्छ । त्यसैले ‘हामी उहाँलाई अदालत लैजाने तयारी गरिरहेका छौं’, बोगटीले भने ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा २१ करोड अमेरिकी डलर (नेपाली ३२ अर्ब) लगानी गरेको दाबी गर्दै केही डकुमेन्टहरु समाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । ती सबै डकुमेन्ट फेक पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि साइबर क्राइम, किर्ते र मानहानी मुद्दा चलाउने सीआईबीको तयारी छ ।
टिप्पणीहरू