छविको बयानलगत्तै रविलाई काठमाडौं ल्याइने

छविको बयानलगत्तै रविलाई काठमाडौं ल्याइने
सुन्नुहोस्

सहकारी ठगी प्रकरणका आरोपित पूर्वडीआईजी छविलाल जोशीलाई पोखराबाट काठमाडौं ल्याइएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा संलग्न उनीबारे अनुसन्धान गर्न हिजो विमानबाट काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले आजबाट बयान सुरू हुने जानकारी दिए । 

पोखराको सूर्यदर्शन सहकारी घोटालामा मुछिएका जोशी दुई महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकोमा बिचमा केही दिनका लागि रुपन्देही पुर्याइएको थियो । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनेगरी अनुसन्धान भैरहेको छ ।  

जोशीको बयान सकिएलगत्तै पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइने प्रवक्ता अधिकारीले बताए । सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्नताको आरोप लागेपछि कात्तिक २ गते पक्राउ परेका उनी पनि कास्की प्रहरीको हिरासतमा छन् । 

छविको बयान सकिएपछि रविलाई काठमाडौं ल्याइने र त्यसपछि दुबैलाई चितवन र वीरगञ्ज लैजाने प्रहरीको तयारी छ ।

जिबी राई समूहले देशभर सहकारीको सञ्जाल खडागरी गैरकानुनी तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम पुर्याएको ठहरसहित संसदीय छानविन विशेष समितिले कारवाही सिफारिस गरेबमोजिम यिनीहरु समातिएका हुन् । तत्कालिन समयमा छवि गोर्खा मिडियाको उपाध्यक्ष र रवि शेयर सदस्यसहित प्रवन्ध निर्देशक थिए ।

टिप्पणीहरू