निर्मला पन्त काण्ड : फाइल नजिकै छ

निर्मला पन्त काण्ड : फाइल नजिकै छ

लामो समयसम्म नेपाली राजनीतिलाई नै तरङ्गित पार्नेगरी घटेको निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अहिले कहाँ पुगिरहेको होला ? यो कुरामा धेरैको चासो देखिन्न तर यति नै बेला यसको सूक्ष्म अनुसन्धान शुरु भएको छ र चाँडै कुनै ठोस प्रमाणसहित निश्कर्षमा पुग्न सकिने सम्भावनाप्रति अनुसन्धानकर्ताहरू आशावादी देखिएका छन् ।

अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकृतका अनुसार त्यसबेला आरोपित व्यक्तिका रुपमा पक्राउ परेर २४ दिनमा छुटेका  व्यक्ति नै दोषी हुन् भन्ने देखिन्छ । तर, तथ्य र प्रमाणहरूले दिलिप सिंह बिष्ट नै अपराधी हुन् भनी किटान गर्न सक्ने आधार भने दिएको छैन । प्रहरी अधिकारीहरू भन्छन्- शायद तथ्य प्रमाण पनि उनलाई दोषी ठहर गर्ने गरी संकलन हुन सक्थ्यो तर त्यसबेला भीडका कारण प्रहरी आत्तियो, उल्टै कारवाही गरेर तिनलाई अत्याइयो । त्यसबेला प्रहरीले नै पनि घटनास्थलको संरक्षण र तथ्य प्रमाणहरूलाई जोगाएर राख्ने काममा कमजोरी गर्‍यो ।

परिणामस्वरूप कतिपय एनजिओ, आइएनजिओहरूले खेल्ने मौका पाए । नागरिक समाजदेखि मिडिया अपराधीको खोजीमा भन्दा प्रहरीलाई दोषी देखाउने काममा लागे । त्यसरी दबावमा परेको प्रहरीले नियमित र स्वाभाविक अनुसन्धान गर्न सकेन । १३० जनाभन्दा बढी व्यक्तिको डिएनए परीक्षण गरियो तर सुराक फेला परेन ।

कतै बलियो प्रमाण फेला परिहाल्छ कि भनेर अहिले प्रहरीले मानवीय स्रोत र जासुसहरुलाई सक्रिय बनाएको छ । गृहमन्त्री सोही क्षेत्रका भएको कारण पनि निर्मला पन्त हत्या प्रकरणलाई नेपाल प्रहरीले निकै प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको बुझिन्छ । एक प्रहरी अधिकृत भन्छन्- हामीले अपराधी त्यसैबेला नै ठम्याएका हौं । मेडिकल रिपोर्टले उनलाई सिनोफ्रेनिक (मानसिक अवस्था ठीक नभएको व्यक्ति) भनिदिएका कारण केही गर्न सकिएन । नत्र मैले यस ढङ्गले करणी र हत्या गरेको हुँ भनेर साविती बयानमा बोलिसकेकै छन् । 

अहिले बलात्कारको विषयले हदम्याद नघाइसकेको छ । अबको कारबाही र अनुसन्धान कर्तव्य ज्यान गरी मारेको सँग मात्रै जोडिएर अगाडि बढ्छ । भीडले सबै कुरा निर्देशित गरेको हुनाले घटनास्थलको रक्षादेखि लिएर लाश मुचुल्कासमेत राम्रोसँग हुन नसक्दा यो प्रकरण जटिल बनेको अनुसन्धान अधिकृतहरूको ठम्याइ छ ।

(साभार:जनआस्था-साप्ताहिकबाट)

 

टिप्पणीहरू