एमालेले रुख रोजेको ठाउँमा माओवादीलाई समाजवादीको साथ
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएको छ ।
माओवादी केन्द्रका उम्मेदवार नरपुरा बुढालाई समर्थन गर्दै समाजवादीका तर्फबाट मनोनयन दर्ता गराएकी सुनिता बुढामगरले उम्मेदवारी फिर्ता लिएकी हुन् । दुई पार्टीले स्थानीयस्तरमा साझा अवधारणा बनाएर जाने समझदारी गर्दै माओवादी उम्मेदवारलाई जिताउने सहमति गरेका छन् ।
माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल र एकीकृत समाजवादीका भीउमान घर्तीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, 'लोकतन्त्रको स्थापित मान्यता विपरित देशका दुई ठूला दलको गठबन्धन सरकार बनेको छ । सरकार प्राप्त उपलब्धिहरुको विरुद्धमा लागिरहेको सर्वविदितै छ। सरकारको यसप्रकारको क्रियाकलापको प्रतिवाद र भण्डाफोर गरी स्थानीयस्तरमा समेत जनपक्षीय काम, विकास निर्माण, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने साझा अवधारणाका साथ अघि बढ्ने हाम्रो प्रतिवद्धता रहेको छ ।'
गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित उपाध्यक्ष भूपेन्द्रा बूढाको निधन भएकाले मङ्सिर १६ गते यहाँ उपचुनाव हुँदैछ । माओवादीले भूपेन्द्राकी दिदी नरपुरालाई उम्मेदवार बनाएको छ कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । गठबन्धनका तर्फबाट एमालेकी केशकुमारी तुलाचनले रुख चिन्हमा उम्मेदवारी दिएकी छन् ।
उपचुनाव हुन लागेको पुथाउत्तरगंगा गाउँपालिका–२ को अध्यक्षमा भने माओवादीका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् । गठबन्धनका साझा उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
टिप्पणीहरू