एमाले–काँग्रेसमा उठेर माओवादीमा पस्ने सम्भावना
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्ष पदमा नेकपा एमाले र नेपाली काँग्रेसबाट संयुक्त उम्मेदवार बनेका जीवन रोका नेकपा माओवादी केन्द्र प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ ।
आफ्नो उम्मेदवारी फिर्ता लिएर माओवादी उम्मेदवार जगत घर्ती (काजु) लाई निर्विरोध निर्वाचित गराएका उनी माओवादीमा प्रवेश गर्न छलफल गरिरहेका छन् । स्रोतका अनुसार उनले एमालेले चुनावमा उठाउन उम्मेदवार नभेटेर आफूलाई उम्मेदवार बनाएको बताउँदै आएका छन् ।
‘उनले एमालेले उम्मेदवार नपाएर आफूलाई उठाएको र काँग्रेसले त्यसमा समर्थन गरेको बताउँदै आएका छन् । सिनियर व्यक्तिसँग प्रतिस्पर्धा गर्न आफ्नो नैतिकताले नदिने उनको भनाइ छ । उनी माओवादी प्रवेश गर्न छलफल गरिरहेको बुझिएको छ’,स्रोतले भन्यो ।
रोकाले आज एक विज्ञप्ति जारी गर्दै वडामा लामो समयदेखि अभिभावकत्व निर्वाह गर्दै आएका अग्रज नेतासँग प्रतिस्पर्धा गर्नु राजनीतिक,सामाजिक र नैतिक दृष्टिले उपयुक्त नहुने बताएका छन् ।
‘हाम्रो वडाको समग्र विकास र जनभावना सम्बोधन गर्न सक्ने निर्विकल्प समाजसेवी नेतासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न मेरो राजनीतिक,सामाजिक र नैतिक दृष्टिले पनि उपयुक्त नहुने भएकोले मैले नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती (काजु)लाई समर्थन गरी राजीखुशीबाट उम्मेदवारी फिर्ता लिएको छु’,विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू