डेढ दर्जनले पार्टी छोडेपछि विप्लवको जिल्ला कमिटी खाली
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दोलखा जिल्ला कमिटीका डेढ दर्जन नेताले पार्टी परित्याग गरेका छन् ।
कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणमा जोड दिँदै तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरी छुट्टै पार्टी गठन गरेको समय पारेर वैकल्पिक केन्द्रीय सदस्य अर्जुन योगीको नेतृत्वमा जिल्ला कमिटीका १६ जनाले सो पार्टी छोडेको घोषणा गरेका हुन् ।
महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई सम्बोधन गर्दै सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा विभिन्न कारणले अब सँगै बस्न नसकिने भएको हुँदा आजैको मितिबाट आ-आफ्नो जिम्मेवारीबाट राजीनामा दिँदै पार्टी परित्याग गरेको उल्लेख छ।
पार्टी छोड्नेहरुमा वैकल्पिक केन्द्रीय सदस्य तथा दोलखा जिल्ला सेक्रेटरी योगीसहित केन्द्रीय सदस्य तथा पूर्वजिल्ला सेक्रेटरी राजन धारुके, पार्टी केन्द्रीय प्रतिनिधि तथा राष्ट्रिय उधोग वाणिज्य महासंघका केन्द्रिय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य नवीन कुमार नेपालीलगायत छन् ।
पार्टी छोडेका उनीहरुले अर्जुन योगीको संयोजकत्वमा कम्युनिस्टहरुको एकता, ध्रुवीकरण र पुनर्मिलनका लागि ५१ सदस्यीय समिति गठन गरेका छन् ।
टिप्पणीहरू