राजदरबारअगाडि एमालेको स्टेज,बिहानैदेखि यातायात प्रभावित
नेकपा एमालेको जुलुस र आमसभा शुरु नहुँदै राजधानीको यातायात ब्यवस्था प्रभावित भएको छ । आज काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्दै दरबारमार्गमा आमसभा गर्ने एमालेको तयारी छ ।
नारायणहिटी दरबारको दक्षिण गेट सामुन्ने स्टेज बनाइएको छ । बिहानैदेखि केशरमहलबाट सवारी साधनलाई जमलतर्फ जान मिल्ने गरी एकतर्फी बनाइएको छ । जय नेपाल हलबाट जाने सवारी साधनलाई कृष्ण पाउरोटी चोकतर्फ र जमलबाट आएका सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्ट गरिएकाले यातायात प्रभावित भएको हो ।
एमालेले विधिको शासन र कानुनी राज्यको पक्षमा दिउँसो राजधानीमा कार्यकर्ता उतार्दै आमसभा गर्न लागेको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार जनतालाई जागरूक बनाउने उद्देश्य र सरकारका कामकारबाहीसम्बन्धी जानकारी गराउने उद्देश्यले जनसभा आयोजना गर्न लागिएको छ ।
एमालेले राजधानीको सवारी आवागमनमा असर नपर्ने जनाउँदै दरबारमार्गमा सभा गर्न लागिएको हिजो दाबी गरेको थियो । भद्रकालीमा बिहान साढे ११ बजे भेला भएर वीर अस्पताल हुँदै जुलुस दरबारमार्ग पुगेपछि भाषण शुरु हुने बताइएको छ ।
सभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्नेछन् ।
टिप्पणीहरू