राजधानीका सडकमा हजारौं सुरक्षाकर्मी, सयौं ट्राफिक
आज राजधानी काठमाडौंका विभिन्न तीन स्थानमा प्रदर्शन र आमसभाको तयारी छ । सत्तारूढ नेकपा (एमाले) ले भद्रकालीमा भेला त्यसपछि जुलुस र अन्तमा दरबारमार्गमा आमसभा गर्दैछ । दुर्गा प्रसाईंले कोटेश्वर र सहकारीपीडितहरुले माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम छ ।
एमालेको बिहान साढे ११ बजे भद्रकालीबाट निस्कने जुलुस सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ । दुर्गा प्रसाईं समूहले कोटेश्वरमा प्रदर्शन गर्न लागेको छ । उनले गत वर्ष मंसिर ७ गते बल्खुमा प्रदर्शन गरेका थिए ।
साइबर क्राइम, किर्ते लगायत अभियोगमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रसाईं अनुसन्धानको क्रममा हिरासतमा रहेकाले उनको समूहले आज प्रदर्शन राखेको हो ।
त्यसैगरी सहकारी पीडितहरूले पनि माइतीघरमा प्रदर्शन गर्दैछन् । उनीहरु बिहानैदेखि त्यहाँ पुगिसकेका छन् । मुलुकभरका सहकारी पीडितहरूले निर्णायक आन्दोलन भन्दै बुधबारदेखि प्रदर्शन थालेका हुन् ।
यता जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सुरक्षा व्यवस्था कडा र व्यवस्थित पारेको जनाएको छ । त्यसका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन भएका छन् भने ट्राफिक व्यवस्थापनका लागि पाँच सयभन्दा बढी ट्राफिक प्रहरी खटिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
टिप्पणीहरू