कांग्रेसको कोष अब उमेश श्रेष्ठले हेर्ने
सत्तारुढ नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले उनलाई आज कोषाध्यक्ष नियुक्त गरेको काँग्रेसले जनाएको छ ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई केन्द्रीय कार्यसमिति कोषाध्यक्षमा मनोनयन गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्रै पार्टीका सबै संयन्त्रलाई पूर्णता दिनुपर्ने व्यवस्था छ । तर, सभापति देउवाले महाधिवेशन सम्पन्न भएको लामो समयपछि कोषाध्यक्ष मनोनित गरेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका नवनियुक्त कोषाध्यक्ष श्रेष्ठ चल्तीका व्यवसायी पनि हुन् । पार्टीमा उनी सभापति देउवापत्नी तथा परराष्ट्रमन्त्री डा. आरजू राणा निकट मानिन्छन् ।
२०७९ को आमचुनावमा चितवन-२ बाट उठेका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।
टिप्पणीहरू