बालेनको पत्र च्यासलमा 'अलपत्र', जरिवाना नतिरे थप कानुन लगाइने
काठमाडौँ महानगरपालिकाले सत्तारुढ नेकपा एमालेलाई जरिवाना गराएको पत्र पठाएको छ । महानगर प्रहरी बलका निरीक्षक किशोर भट्टराईसहितको टोलीले च्यासलस्थित एमाले मुख्यालयमा पत्र बुझाए पनि दर्ता गर्न भने नमानेको बुझिएको छ ।
शुक्रबार दरबारमार्गमा आयोजना गरेको 'जागरण सभा'का क्रममा सडक र सडकपेटीमा जथाभावी फोहोर गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना तिराउने निर्णय गरेको थियो । तर, पत्र प्राप्त नभएको र पाए पनि जरिवाना नतिर्ने एमाले नेताहरुको प्रतिक्रियापछि महानगरले औपचारिकरुपमा पत्र दिएको हो ।
महानगरले कानुनअनुसार नै जरिवाना गरेको महानगर प्रहरी बलका एसपी विष्णुप्रसाद जोशीले बताए । उनका अनुसार एमालेलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र महानगरको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको हो ।
‘हिजो शनिबार कार्यालय बन्द हुने भएकाले पत्र पुर्याउन सकेका थिएनौं, आज इन्सपेक्टर साब पत्र लिएर जानुभएको छ’, उनले जनआस्थासँग भने, ‘तोकिएको जरिवाना नतिर्ने भन्ने हुँदैन । उहाँहरुले अटेरी गर्नुभयो भने महानगरको अन्य कानुन पनि आकर्षित हुन्छ ।’
तर, एमाले नेताहरुले भने आफूहरुले सडकमा फोहोर नगरेको दावी गरिरहेका छन् । शंकर पोखरेलले जागरण सभा सम्पन्न भएलगत्तै कार्यकर्ताले फोहोर उठाएर गाडी पठाइदिन महानगरलाई आग्रह गरेपनि सहयोग नपाएको बताएका थिए । एमालेविरुद्ध घेरावन्दी गर्न मेयर बालेन शाहले गाडी नपठाएको उनको दावी छ ।
तर, महानगरले भने त्यसको खण्डन गरेको छ । गाडी किन नपठाएको ? भन्ने प्रश्नमा प्रहरी बलका एसपी जोशीले भने, ‘उहाँहरुले कसलाई खबर गर्नुभयो, उहाँहरुलाई नै थाहा होला । हामीकहाँ खबर आएको थिएन ।’
टिप्पणीहरू