आवरणमा संसद र माननीय,अन्तर्यमा ‘होली वाइन’
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे यतिखेर कम्बोडियाको राजधानी न्होम्पेन्हमा हुनुहुन्छ । उहाँ थाई एअरवेजको उडान नम्बर टीजी ३१० बाट शुक्रबार राति साढे ९ बजे बैंकक हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
चार सदस्यीय टोलीको नेतृत्व गर्दै त्यहाँ पुग्नुभएका सभामुखलाई आवरणमा कम्बोडियाका सरकारी अधिकारीहरुले स्वागत गरे पनि भित्री चहलपहल भने दक्षिण कोरियाली क्रिश्चियन मिसनरीका प्रतिनिधिहरुको देखिएको बताइन्छ ।
हिजोदेखि पर्सिसम्म आयोजित इन्टरनेशनल पार्लियामेन्ट फर टोलरेन्स एण्ड पिसको ११ औं सेशनमा भाग लिन सभामुख घिमिरे कम्बोडिया जानुभएको हो । टोलीमा सांसदहरु ताराबहादुर लामा, ईश्वरबहादुर रिजालसँगै सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रसाद भट्टराई र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल सहभागी छन् ।
सभामुखलाई स्वागत गरिएको एउटा तस्बिरमा उक्त क्रिश्चियन संस्थाकी एकजना प्रभावशाली नेतृ पनि देखिन्छिन् ।
सभामुखलगायत अन्य सहभागीलाई त्यहाँको विमानस्थल,कार्यक्रमस्थल र आवासको प्रबन्ध मिलाइएको होटलमा युनिफिकेसन चर्चका प्रतिनिधिहरुले आवश्यक सहयोग गरेको न्होम्पेन्ह पुगेका नेपालीहरुले बताएका छन् । सन् म्युङ मुनले स्थापना गरेको उक्त चर्चको प्रमुख पछिल्लो समय उनकै पत्नी हाक जा हान मुन हुन् ।
कम्बोडियामा सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपीटीपी) को एघारौँ प्लेनरी बैठक बसेको छ । सोही कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेस, एमाले,जनमत, राप्रपालगायत पार्टीका प्रतिनिधिहरु अघिल्लो साता त्यहाँ पुगेका छन् ।
सभामुखलाई स्वागत गरिएको एउटा तस्बिरमा उक्त क्रिश्चियन संस्थाकी एकजना प्रभावशाली नेतृ पनि देखिन्छिन् । नेपाल र भारत हेर्ने श्रीमती उर्सुला म्याकसँगै त्यस अवसरमा एशिया प्रशान्त क्षेत्र हेर्ने एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि उपस्थित थिए ।
आवरणमा संसदीय कार्यक्रम देखाउँदै ढकालको अग्रसरतामा नेपाली राजनीतिक दलका नेताहरुलाई आफ्नो संस्थाको कार्यक्रममा सहभागी गराइएको चर्चा छ । त्यसका लागि ढकाल र उनको संस्थाले झण्डै दुई दर्जन वटा ब्यानरमा विभिन्न मुलुकमा यस्तो कार्यक्रमको आयोजना गर्ने गरेको बताइन्छ ।
टिप्पणीहरू