४५ वर्षअघिको २ हजार अहिले कति ?
काँग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षको जिम्मा दिइएपछि एकथरी काँग्रेसजनले २ हजार रुपैयाँको चर्चा गरेका छन् । सभापति शेरबहादुर देउवाले आजदेखि विवादास्पद तर अर्बपति उमेश श्रेष्ठलाई पार्टीको कोषकै साँचो दिनुभएको छ ।
तीन वर्षअघि उनी देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिले स्वास्थ्य राज्यमन्त्री र पछि विना विभागीय राज्यमन्त्रीको हैसियतमा लामो समय प्रधानमन्त्री कार्यालयमा बसेका थिए । चुनावमा रवि लामिछानेसँग हारेका श्रेष्ठले नाफाको लागि नगरेको व्यवसाय बिरलै होला । लिटिल एन्जेल्स स्कूल र कलेजको मालिक भनेर चिनिएका उनी पछिल्लो समय दर्जनौं संस्थाका मुख्य लगानीकर्ताको रुपमा चिनिएका छन् ।
"२ हजारबाट साढे ४ दशकमा यति धेरै सम्पत्ति जोडेका मालिक स्वयम् हालै दिवंगत भारतीय उद्योगपति रतन टाटा जस्तै अविवाहित हुन् । तर, रतन टाटा व्यवसायको क्रममा कहिल्यै विवादमा तानिएनन् ।"
केही वर्षअघि उनी सभापति देउवा पुत्रसँग महिलाले महिनावारीको बेला प्रयोग गर्ने स्यानिटरी प्याड आयात काण्डमा मुछिएका थिए । श्रेष्ठ र देउवा पुत्र जयवीरलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भन्सार सहुलियतमा सहयोग पुर्याएर आन्तरिक उत्पादनमा गम्भीर असर पुर्याएको आरोप लागेको थियो ।
अहिले उनै श्रेष्ठ कम्तीमा ३० अर्ब रुपैयाँको मालिक रहेको बताइन्छ । उनले शिक्षा,स्वास्थ्य,पर्यटन,ऊर्जा,कृषि, बैंकिङ,सेवा,व्यापार सबै क्षेत्रमा लगानी गरेको देखिन्छ ।
केही वर्षअघि ४५ वर्ष पहिले काठमाडौं छिर्दा खल्तीमा २ हजार रुपैयाँ बोकेर आएको सगर्व सुनाएका थिए । भोजपुरका उमेश अहिले थोरै अर्बपतिमध्ये गनिन्छन् ।
प्राप्त विवरणअनुसार उनी प्राइम बैंकको सबैभन्दा ठूलो सेयरधनी हुन् । उनीसङ्ग भएको ४७ लाख ७३ हजार १३७ कित्ता सेयरको आजको मूल्य करिब १ अर्ब २९ करोड छ । उनले वार्षिक १५ करोडभन्दा बढी लाभांश बुझ्दै आएको देखिन्छ । लिटिल एन्जेल्सको आम्दानीको कुनै गणना छैन भने स्कूल र कलेजको नाममा अर्बौैंको भौतिक सम्पत्ति छ ।
उनले झण्डै एक दर्जन जलविद्युत परियोजनामा लगानी गरेका छन् । धुलिखेल,चितवनलगायत स्थानमा महँगा रिसोर्ट होटल खोलिएको छ । जनमैत्री र महेन्द्रनारायण निधी अस्पतालमा पनि उनैको लगानी छ । दरबारमार्गमा खोल्न लागिएको अन्नपूर्ण होटल तथा अपार्टमेन्टमा झण्डै एक अर्ब लगानी उनैको हुने बताइएको छ ।
२ हजारबाट साढे ४ दशकमा यति धेरै सम्पत्ति जोडेका मालिक स्वयम् हालै दिवंगत भारतीय उद्योगपति रतन टाटा जस्तै अविवाहित हुन् । तर, रतन टाटा व्यवसायको क्रममा कहिल्यै विवादमा तानिएनन् । उनले सबै उद्योग र सम्पत्ति ट्रष्टमार्फत् सञ्चालनमा लगेका थिए ।
टिप्पणीहरू