वर्षमान पुनको निर्णय उल्टाएपछि सुनको भाउमा पहिरो
हिजो प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँ रहेको सुनको नेपाली बजार भाउ आज १ लाख ५१ हजार ३०० मा झरेको छ । पछिल्लो २४ घण्टामा सुनको भाउ तोलामा झण्डै १६ हजारले घटेको छ ।
सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय आजदेखि कार्यान्वयन गरेकाले सुनको भाउ घटेको बताइन्छ । गत बिहीबारको क्याबिनेट निर्णय आजदेखि लागुभएको हो ।
हिजोसम्म सुनको भन्सार दर २० र चाँदीको १५ प्रतिशत थियो । आजदेखि १० प्रतिशत कायम भएको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बढाएको सुनको भन्सार दरलाई सरकारले पुरानै कायम गरेकाले भाउ घटेको हो । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो ।
टिप्पणीहरू