शिक्षकहरुको शैक्षिक विकास परियोजना शुभारम्भका लागि आइपुगे फिनल्याण्डका मन्त्री

शिक्षकहरुको शैक्षिक विकास परियोजना शुभारम्भका लागि आइपुगे फिनल्याण्डका मन्त्री

फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले टाभियो चार दिने नेपाल भ्रमणमा आएका छन् । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री टाभियो कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै बिहान सवा १० बजे काठमाडौं आइपुगेका हुन् ।

टोलीले नेपाली उच्च अधिकारीहरुसँग औपचारिक भेटवार्ता र छलफल गर्नेछ । फिनल्याण्डको सहयोगमा सञ्चालित विभिन्न आयोजनाको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । विशेषगरी युएन वुमन्स प्रोजेक्टको स्थलगत भ्रमण गर्ने बुझिएको छ।

टोलीमा मन्त्रीका विशेष सल्लाहकार टुओमास टापिओ पेटेरी, उपमहानिर्देशक रामेशेस नागुयीब मालाटी, डेस्क अफिसर एलिना कटरिना हमालैनान र माट्स ओस्कार रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

भ्रमणको क्रममा मन्त्रीले युरोपियन युनियन, फिनल्याण्ड र नेपालको संयुक्त पञ्चवर्षे शैक्षिक परियोजना टेक्सेसको शुभारम्भ गर्नेछन् । टेक्सेस कार्यक्रमअन्तर्गत नेपालका विद्यालयहरुलाई प्राविधिक सहयोग उपलब्ध गराइन्छ । यसमा विशेषगरी शिक्षकहरुको शैक्षिक विकासमा जोड दिइने बताइएको छ । नेपाल र फिनल्याण्डबीच २५ वर्षदेखि शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान हुँदै आएको छ ।

यो वर्ष नेपाल र फिनल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ ।

टिप्पणीहरू