रवि पक्राउपछि उग्र मुकुल पूर्वका हर्क र पश्चिमका गोपीसँग विनम्र
सहकारी ठगी प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, कुमार रम्तेललगायत पक्राउ परेपछि पीडितहरुमा बचत फिर्ताको आशा पलाएको छ । कतिपय सहकारी पीडितहरु खुशी छन्, जुन स्वाभाविक पनि छ । तर, यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री लामिछानेको पक्राउले सबैभन्दा धेरै खुशी रास्वपाका निलम्बित महामन्त्री डाक्टर मुकुल ढकाल देखिन्छन् ।
विभिन्न जिल्ला घुमेर तयार पारेको अध्ययन प्रतिवेदनमार्फत सभापति लामिछानेलाई प्रश्न गरेकै कारण कारबाहीमा परेका उनी पछिल्लो समय शान्त छन् । तर, सामाजिक सञ्जालमा भने उनको सक्रियता थप बढेको छ । ‘रवि लामिछाने क्लबका सबै सदस्यहरु ढोंगी भएको’ बताउने उनी बेला–बेला लामिछानेसँग दुई वटा राहादानी भएको दावी पनि गर्छन् । कुनै बेला रविको कोर टिमका सदस्य उनले अब फेरि रास्वपामा जिम्मेवारी पाउने सम्भावना देखिँदैन ।
यसैबीच मुकुलले देशभरका स्वतन्त्र जनप्रतिनिधिहरुलाई गोलबद्ध हुन आह्वान गरेका छन् । उनले आज एक लामो अपील पत्र जारी गर्दै ’स्वतन्त्र नागरिक सभा’ गठन गर्न आग्रह गरेका हुन् ।
संस्थागत राजनीतिभन्दा व्यक्तिवादी राजनीतिका कारण रास्वपा अधोगतिमा लागेको बताउँदै उनले त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिएका छन् । ‘मुख्यतः आफ्नै गल्ती र परिस्थिति अनुकूल नहुँदा ती दल तथा अभियान स्थापित हुन सकेनन्’, मुकुलले लेखेका छन्, ‘हामीले जे उद्देश्य राखेर छोटो समयमा आफूलाई स्थापित गरायौँ, अहिले त्यही गतिमा पार्टीको पतन हुँदै जाने त होइन भन्ने आशंका गर्न थालिएको छ ।’
रास्वपाका नेताहरुको पछिल्लो हर्कतले जनतामा वैकल्पिक शक्तिबारे नकारात्मक सन्देश प्रवाह भएको उनको तर्क छ । वैकल्पिक राजनीतिको वकालत गरिरहेका सबैलाई एक ठाउँमा उभिन आह्वान गर्दै थपेका छन्, ‘स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिमा आशा लाग्दा युवा नेताका रूपमा उदाएका बालेन, हर्क, गोपी, सागरजीलगायतका मित्रहरूलाई समेत म यो अभियानमा गोलबद्ध हुन अनुरोध गर्दछु ।’
वैकल्पिक राजनीतिको पैरवी गर्ने तथा बौद्धिक नागरिक समाजसहित देशको सबै भूगोल र समुदायको समुचित प्रतिनिधित्व हुनेगरी स्वतन्त्र नागरिक सभा गठन गर्न मुकुलको प्रस्ताव छ । सभाको कार्यदिशा, विधान, नीति तथा कार्यक्रम पारित गरेर अघि बढ्न सकिने विश्वास गर्दै उनले भनेका छन्, ‘विविध दल र अभियानमा जोडिएका हामी सबै एक ठाउँमा आउन सके मात्र २०८४ सालमा पुरानालाई धक्का दिन सकिन्छ ।’
टिप्पणीहरू