आकाश नखुल्दा उतै अड्किए रवि
सहकारी ठगी, संगठित अपराध, कागजात किर्ते र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइँदैछ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा मुछिएका उनलाई बयानका लागि जहाजबाट काठमाडौँ ल्याउन लागिएको हो । कास्की प्रहरीले बिहान ८ बजे नै लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइसकेको छ । तर, मौसम प्रतिकूलताका कारण जहाज डिले हुँदा उनी विमानस्थलको यात्रुकक्षमै रोकिएका छन्।
पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता यशोधा रेग्मीले बाक्लो हुस्सु र तुवाँलोले भिजिबिलिटी नपुगेपछि सबै उडान रोकिएको जानकारी दिईन् । आकाश खुल्ने बित्तिकै जहाज उड्ने र लामिछानेलाई काठमाडौं पठाइने उनले बताइन् ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय, माइतीघरमा बयान लिइनेछ । उनी र गोर्खा मिडियाका अन्य पदाधिकारीहरुमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप छ ।
यसअघि उनलाई सुप्रिम बचत तथा ऋण सहकारीको बचत अपचलनमा संलग्न देखिएको भन्दै बयानका लागि रूपन्देही लगिएको थियो ।
टिप्पणीहरू