मानव तस्करीको आरोपबाट उन्मुक्ति पाएका एमाले सांसद पूजापाठमा

मानव तस्करीको आरोपबाट उन्मुक्ति पाएका एमाले सांसद पूजापाठमा

कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट रिहा भएलगत्तै पशुपतिनाथ मन्दिर पुगेका छन् । 

मानव तस्करीमा मुछिएका उनी सरकारी वकिलको कार्यालय काठमाडौँले  मुद्धा नचलाउने निर्णय गरेपछि हिजो रिहा भएका थिए । १६ दिनपछि हिरासतमुक्त भएका अधिकारी आज बिहानै पशुपति दर्शन गर्न गएका हुन् । 

मन्त्रालयको नक्कली परिचय पत्र बनाइदिएर केही व्यक्तिलाई अवैध रुपमा जापान पुर्याउन खोजेको आरोपमा कात्तिक २५ गते विराटनगरस्थित निवासबाट समातिएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । प्रहरीले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले 'मानव तस्करीको सूचना उपलब्ध गराएको' आधारमा टेकेर उन्मुक्ति दिएपछि अधिकारी छुटेका हुन्  । 

यस प्रकरणमा पक्राउ परेका अरु ११ जनाविरुद्ध भने जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले बताए । 

जापानको कार्यक्रममा भाग लिन भन्दै अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए । तर, उनीसहित सँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई त्यहाँको अध्यागमनले डिपोर्ट गरेपछि घटना बाहिर आएको हो ।

अधिकारी नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नं २ (ख) का निर्वाचित सांसद हुन् ।

टिप्पणीहरू