अधिकारी छुटेकोमा लामिछाने छुटाउन कस्सिएकाहरुको आपत्ति

अधिकारी छुटेकोमा लामिछाने छुटाउन कस्सिएकाहरुको आपत्ति

मानव तस्करी प्रकरणमा जोडिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनिष झाले अधिकारी एमाले भएकै कारण सरकारले जोगाएको दाबी गरे । 

अधिकारीलाई उन्मुक्ति दिइनुले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको कुरा थप प्रमाणित भएको उनको तर्क छ । ‘मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई क्लिनचिट दिइएको छ, कुनै मुद्धा नचल्ने भएछ’, झाले भने, ‘आफ्नालाई जोगाउने र अरुलाई कस्ने सरकारको नियत स्पष्ट देखिरहेको छ । अब हाम्रो सभापतिज्यूमाथि पनि सरकारले राजनीतिक प्रतिशोध साँधेको हो भन्ने कुराको आधार देखाइरहनु पर्दैन । यसले अझै प्रस्ट पार्न सहयोग गर्यो ।’

लामिछाने थुनामुक्त हुँदा एमाले-कांग्रेसका नेताहरुलाई खतरा बढ्ने भएपछि सरकारले हिरासतमै राखेको झाको टिप्पणी छ । लामिछानेले रुपन्देही सरकारी वकिलको कार्यालयमा दिएको अभिव्यक्ति स्मरण गर्दै थपे, ‘बार्दलीमा उभिएर बोलेको एक वाक्यसँग डराएको पनि पाइयो ।’

त्यस्तै, गणेश पराजुलीले सभापति लामिछानेले सरकारी वकिलको कार्यालयमा दिएको बयान वकिलले पाउनुभन्दा अघि मिडियामा कसरी आयो ? भन्दै प्रश्न उठाएका छन् । ‘दिउँसो बयान हुन्छ, बयानको कागजात हाम्रा वकिललाई दिइएको हुँदैन, तर साँझ मिडियामा आउछ’, उनले भने, ‘अनुसन्धान कतिसम्मको सुनियोजित ढंगबाट भइरहेको छ, यसैबाट थाहा हुन्छ ।’

टिप्पणीहरू