दुर्गा प्रसाईंद्वारा हिरासतबाटै प्रधानमन्त्रीलाई पक्रन माग
प्रहरी हिरासतमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि तथानाम गाली गर्दै कम्बोडियाको टेलिकममा गरिएको लगानी सत्य भएको दाबी गरेका छन् । ‘संसारभरि छरिनुभएका नेपालीमा म दुर्गा प्रसाईंको नमस्कार !!’ भन्दै लेखिएको हिरासतको पत्र सचिवालय सदस्य कल्पितको नामबाट सार्वजनिक भएको छ ।
प्रसाईं शुरुमै लेख्छन्, ‘म यहाँ हिरासतमा आरामै छु । भगवान पशुपति नाथसँग तपाईंहरुको पनि आरामताकाको कामना गरेको छु । हिरासत नजाँदासम्म सरकारले सत्य बोलेकोमा सजायस्वरुप उपहार दिन कतिबेला भर्याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ । अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ । एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ ।’
उनले हिरासतभित्रको अँध्यारो कोठामा काँग्रेस संस्थापक नेता विपी कोइरालाको आत्मवृत्तान्त पढेको र उहाँप्रति असीमित सम्मान जागेर आएको उनले लेखाएका छन् । कोइरालाले उमेरमै दक्षिण एसियाका नागरिकको मुक्तिका लागि जीवन समर्पित गरेको दुर्गाको भनाई छ ।
उनले भाग १ (कम्बोडियाको टेलिकममा लगानी) शीर्षकमा लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको टेलिकम एक्जिएटामा ओलीको लगानी भन्ने प्रमाणको आधारमा २१ करोड अमेरिकी डलर लगानी रहेको कुरा बाहिर सतहमा ल्याएँ । यसको लागि समय र धन लगानी गरेँ । नेपाली जनतामाझ नेपाल सिध्याउने व्यक्तिको मुखुण्डो उतार्न पाउँदा अत्यन्त हर्षित छु ।’
हिरासत नजाँदासम्म सरकारले सत्य बोलेकोमा सजायस्वरुप उपहार दिन कतिबेला भर्याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ । अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ । एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ
उनले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारी भन्दै भ्रष्टहरुको सत्ता निर्मम हुने ठोकुवा गरेका छन् । भ्रष्टाचारीहरुले राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारको दायरालाई आफू केन्द्रित गर्ने प्रसाईंको दाबी छ । सत्ताको कुर्सी हल्लाएकाले अनेक आरोपमा आफूलाई हिरासत र अन्ततः जेलभित्र सडाउने षडयन्त्र रचिएको उनको आशंका छ ।
लेखेका छन्, ‘भ्रष्टको मुखुण्डो उतार्ने हिम्मत गरेकोमा निवासबाटै म पक्राउ परेँ । मलाई थाहा छ हिजो राणाकालमा राणाबिरुद्ध बोल्ने,पन्चायतकालमा पञ्च विरुद्ध बोल्ने र आज केपी ओलीका काला कर्तुतबिरुद्ध भण्डाफोर गरेर बोल्ने जो कोहीलाई बन्दुकधारी बर्दिवाला प्रहरीको दुरुपयोग गरेर पक्राउ गरिन्छ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त नै थिएँ । सोहीबमोजिम आफ्नै निवासबाट पक्राउ परेँ ।’
प्रसाईंले प्रधानमन्त्री ओलीलाई हिटलरसँग दाँजेका छन् । उनले प्रधानमन्त्रीको शैलीलाई क्रुर अलोकतान्त्रिक हिटलर प्रवृत्तिको शासकको आरोप लगाएका छन् । रवि लामिछाने पनि प्रधानमन्त्री ओलीको नजरमा आँखाको कसिङ्गर भएको उनले लेखेका छन् । नक्कली भुटानी शरणार्थी काण्डमा स्वकीय सचिव राजेश बज्राचार्य हुँदै काण्ड ओली निवास प्रवेश गर्न थालेपछि त्यसको प्रतिफल रवि लामिछानेले भोगेको दुर्गाको ठहर छ । लेखेका छन्, ‘सुन्दै छु केही समयमा बालेनलाई पनि षड्यन्त्रको सिकार बनाईंदै छ ।’
उनले माओवादीलगायत विपक्षी दलहरुप्रति अनुरोध गर्दै प्रधानमन्त्रीको कम्बोडियामा भएको भनिएको लगानीको छानबिनका लागि गैरराजनैतिक छानबिन समिति बनाउन आग्रह गरेका छन् ।
टिप्पणीहरू