कीर्तिपुर र काठमाडौं–१६ मा आचारसंहिता लागू गर्न टोली परिचालन

कीर्तिपुर र काठमाडौं–१६ मा आचारसंहिता लागू गर्न टोली परिचालन

निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका-१६ मा निर्वाचन आचारसंहिताको अवस्था बुझ्न टोली खटाएको छ । प्रचार प्रसारका क्रममा आचारसंहिता मिचिएको सूचना प्राप्त भएको जनाउँदै आयोगले छुट्टा-छुट्टै टोली परिचालन गरी अनुगमन थालेको हो । 

जसअनुसार कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका एसएसपी दीपक रेग्मी, उपसचिव डा.थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी बलका एसपी अशोक न्यौपानेलाई अनुगमनका लागि खटाइएको छ । 

त्यस्तै, काठमाडौं–१६, मा आयोगका सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरी बल नेपालका एसएसपी दिगविजय सुवेदी, उपसचिव सीता पुन श्रीष र नेपाल प्रहरीका एसपी सञ्जयसिंह थापा खटिएका छन् । 

उम्मेदवारी मनोनयनलगत्तै मङ्सिर २ गतेदेखि आचारसंहिता लागू गरेको आयोगले निर्वाचन प्रचार प्रसारको सूक्ष्म अनुगमन भइरहेको जनाएको छ । अनुगमनको क्रममा आचारसंहिता उल्लंघन गरेको पाइएमा उम्मेदवारको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएइको छ । 

‘आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रद्द गर्न सक्ने जानकारी गराइन्छ’,  आयोगले विज्ञप्ति जारी गर्दै सचेत गराएको छ ।

टिप्पणीहरू