हराएका २७ मोटरसाइकल भेटिए
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका साढे दुई दर्जन सवारीसाधन फेला परेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका तथा चोरी भएका २७ वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो ।
कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) भरतबहादुर बोहराले आज १८ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे । उपत्यकाका विभिन्न ठाउँबाट हराएका तथा चोरी भएका ती सवारीसाधन खोजतलासको क्रममा काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँ बसपार्क, मालिगाउँ, मंगलबजार, गोकर्ण, नगरकोट, थली र बुद्धनगरलगायत स्थानमा भेटिएको कार्यालयको भनाइ छ ।
केही सवारीसाधन वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेको जनाइएको छ । कार्यालयका अनुसार गत साउनयता हराएका दुई सय १० थान दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकिएको छ ।
उक्त अवधिमा २२ वटा दुई पाङ्ग्रे सवारीसाधन चोरीमा संलग्न ३२ जनालाई पनि पक्राउ गरिएको छ । सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील, चेन, ह्यान्डिल, डिस्क लक लगाउन तथा सुरक्षा साइरन जडान गर्न, मानिसको आवातजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा कल गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन पनि आग्रह गरिएको छ ।
टिप्पणीहरू