रवि र निकिताको ५ वटा बैंक खातामा कति रहेछ रकम ?
संसदीय छानविन विशेष समितिले सहकारी ठगीमा दोषी ठहर गर्दै कानुनबमोजिम कारवाही सिफारिस गरेको प्रतिवेदन सार्वजनिक भएलगत्तै 'क्लिन चिट' पाएको प्रचार गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कात्तिक २ गते बनस्थलीस्थित पार्टी मुख्यालयबाट गिरफ्तारी दिँदै गर्दा पत्नी निकिता पौडेलतर्फ हेर्दै 'मैले केही गल्ती गरेको छैन नि है !' भनी आफू निर्दोष रहेको विश्वास दिलाउन खोजेका थिए । त्यसअघि पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै 'अदालतबाट सफाई पाएर फर्किने र यही हातले सही गरी भ्रष्टाचारीलाई जेल पठाउने' चर्को भाषण गरेका उनले सहकारी ठगीमा आफू कहीं कतै नजोडिने दाबी दोहोर्याएका थिए ।
तर,उनै रवि र निकिताले गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत सहकारीको पैसामा गर्नुसम्म ब्रम्हलुट गरेको तथ्य बाहिर आएको छ । जिबी राई समूहले देशभर सहकारीको नेटवर्क खडा गरी गोर्खा मिडियासहित विभिन्न निजी कम्पनीमा गैरकानुनी तवरले रकम पुर्याएको यस प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले उक्त तथ्य पत्ता लगाएको हो ।
प्रहरी स्रोतका अनुसार विभिन्न सहकारीबाट गोर्खा मिडियामा पुगेको करोडौँ रकम परिचालनको अधिकार पाएका रविले श्रीमती निकिता पौडेलको बैंक खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ । गोर्खा मिडियाबाट रविले 'निकिता पौडेल'को नाममा व्यक्तिगत चेक काटेर रकम दिएका थिए । तर, त्यसको प्रयोजनसमेत नखुलाइएको स्रोतले बताएको छ ।
गोर्खा मिडियाबाटै ससुरा उद्धव पौडेलको स्वामित्व रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको संसदीय छानविन समितिले यसअघि नै खुलाइसकेको छ ।
संसदीय समितिले सहकारीबाट गोर्खा मिडियामा पुगेको ६५ करोड रविमार्फत परिचालन भएको औँल्याएको थियो । तर, प्रहरी अनुसन्धानका क्रममा पौने तीन करोड बढी अर्थात् ६७ करोड ७६ लाख परिचालन भएको पाइएको छ । यो रकम अझै बढ्न सक्ने अनुमान छ ।
यो प्रकरणलाई सुक्ष्म ढंगले हेरिरहेका एक प्रहरी अधिकारीका अनुसार रवि र निकिताको बैंक खातामा अस्वाभाविक 'ट्रान्जेक्सन' समेत देखिएको छ । पछिल्लो चार वर्षमा रविको ग्लोबल आइएमई र सिद्धार्थ बैंक अनि निकिताको नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकको व्यक्तिगत खातामा कूल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको छ । यति ठूलो परिमाणमा रकम कहाँबाट आयो र कहाँ-कहाँ गयो भन्ने विषय भने अहिले अनुसन्धानकै क्रममा रहेको बताएको प्रहरी स्रोत भन्छ-अस्वाभाविक कारोबार देखिएकाले नै रविमाथि सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान अघि बढाएका हौँ ।
जिबी-रविको 'ड्रिम प्रोजेक्ट' भनिएको गोर्खा मिडियामा मासिक ६ लाख तलब-भत्ता बुझेका रविले सर्वसाधारणले गाँस काटेर सहकारीमा जम्मा गरेको पैसा यसरी मनपरी बाँडेको मात्र भेटिएको छैन, सहकारी ठगीमा उनको प्रत्यक्ष संलग्नता ठहरिने प्रमाण पनि प्रहरीले हात पारिसकेको छ । पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिमलगायतका सहकारी संस्थाबाट गोर्खा मिडियाले लिएको ऋणको ब्याज तिर्न उनकै हस्ताक्षर रहेको चेकबाट भुक्तानी गरेको अनुसन्धानकै क्रममा खुलेको हो ।
तर,लामिछानेले 'ड्रयरमा हस्ताक्षर गरिएका चेक राखिएको हुन्थ्यो, कसैले लेखेर दियो होला !' भन्दै त्यसलाई पूर्णत: अस्वीकार गरेपछि अनुसन्धान टोलीले विधि विज्ञान प्रयोगशालाबाट प्रमाणित गराउने तयारी गरिरहेको छ ।
सहकारीको पैसामा कतिसम्म रजाईं गरिएको रहेछ भने जिबी राईले आफन्तदेखि प्रेमिकासम्मको नाममा घर,बंगला,जग्गा र विभिन्न क्षेत्रमा लगानी गरेको प्रमाण पनि भेटिएको छ । हजारौं बचतकर्ताको करोडौँ रकम अपचलन गरेर फरार रहेका उनले प्रेमिका लीला पछाई,उनकी आमा र दिदीको नाममा ठूलो मात्रामा चल-अचल सम्पत्ति जम्मा गरेको प्रमाण अनुसन्धानका क्रममा फेला परेको हो ।
जिबीले सागर जोशी र दिनेश रोक्काको नाममा लुकाएर राखेको मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ को १२ कट्ठा जमिन प्रहरीले हात पारेको छ । राजीनामा पास गरेर दिइएको उक्त जग्गा प्रहरीले हालै रोक्का गरेको छ । त्यसैगरी,ललितपुरको सैबु भैंसेपाटीमा २५ आना जग्गा भेटिएको छ । करोडौँ मूल्य पर्ने उक्त उक्त जग्गा पनि रोक्का छ । ०७९ साउन ३० गते चेनी क्यापिटललाई १४ करोड ९० लाखमा बेचिएको सैंबुकै अर्को कित्ता जमिन पनि रोक्का गरिएको छ ।
त्यस्तै,ललितपुरको खुमलटारस्थित एक हाउजिङभित्र चार आना जग्गामा बनेको साढे २ तले घर जिबीले प्रेमिका पछाईको नाममा राखेको भेटिएको छ । पछाईकी आमाको नाममा नौ आना र दिदीको नाममा बुटवलमा २ बिघा जग्गा पनि फेला परेको छ ।
यसबाहेक चितवन, हेटौँडा,गुल्मी र नेपालगन्जमा समेत ठूलो मात्रामा जिबीले आफन्त, साथीभाइ र चिनेजानेका मान्छेको नाममा जग्गा राखेको पाइएको छ । यी सबै जग्गा अहिले रोक्का भैसकेको प्रहरीले जनाएको छ ।
पछाईले १८ करोड ६८ लाख ८ हजार रकम क्रिप्टोमार्फत मलेसिया पठाएको पनि प्रहरीले पत्ता लगाएको छ । प्रतिडलर १३४ का दरले हालै रकम त्यता पठाएको खुलेको हो । सहकारी ठगी र क्रिप्टो कारोबारमा प्रत्यक्ष संलग्नता भेटिएसँगै पछाई अहिले रवि लामिछाने र छविलाल जोशीसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छिन् । पक्राउ पर्नुअघि उनी जिबीलाई भेट्न मलेसिया पनि पुगेकी थिइन् ।
जिबीकी प्रेमिका पछाईको मात्र ६ वटा बैंकमा १८ करोड ७० लाख ट्रान्जेक्सन देखिएको छ । त्यस्तै, गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष छविलालको नवील बैंकमा २६ करोड ४९ लाखको कारोबार देखिएको छ । रवि-निकितासहित छविलाल र पछाईको बैंक खायाबाट उक्त रकम जग्गा वा शेयरमा लगानी भएको अनुमानमा थप अनुसन्धान भैरहेको सिआइबी स्रोतले जनाएको छ ।
'सहकारीको पैसा ल्याएर रवि, प्रेमिका, प्रेमिकाकी आमा र दिदीको नाममा राख्दै गएको देखिन्छ । यस्तो अरु धेरैको नाममा राखेको हुनसक्ने भएकाले खोजी गरिरहेका छौँ' यो प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी भन्छन्, 'सहकारीको पैसा १४ प्रतिशत ब्याजमा ल्याएर जग्गामा लगानी गरेका जिबीले पछि दोब्बरमा बेचेको र बाँकी पैसा मिलाउन विभिन्न व्यक्तिको नाममा राखेको हाम्रो बुझाई छ ।'
टिप्पणीहरू