प्रधानमन्त्रीका लागि हिमालय एअरलाइन्समा विशेष कक्ष बनाईंदै
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमणमा जान लाग्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी सोमबार बिहान काठमाडौंबाट सोझै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चिनियाँ र नेपालीको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सको चार्टर विमानमा जाने र आउने तय भएको छ । ‘सोमबार बिहान १० बजेको यताबाट जाने र बिहीबार साँझ ५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम मोटामोटी तय भएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवत: आज साँझको क्याबिनेट बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका टोली सदस्य,एजेण्डा र आवश्यक कार्यक्रम स्वीकृत गर्नेछ । टोलीका सदस्यहरुको कूटनीतिका राहदानीका निम्ति राहदानी बिभागमा धमाधम फोटो खिचाउने काम भैरहेको छ ।’
हिमालय एअरलाइन्सको ए ३१९ विमानमा ४५ देखि ५० जना सवार हुने जानकारी परराष्ट्रले विमान कम्पनीलाई गराएको बताइन्छ । ‘बिजनेस क्लास’ नरहेको उक्त विमानमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री,मुख्य सचिवलगायतलाई विमानको अगाडिका केही इकोनोमी सिटलाई पर्दाले बेरेर सहज बनाउन सुझाइएको सरकारी अधिकारीहरु बताउँछन् ।
प्रधानमन्त्री आगामी मंगलबार र बुधबार दुई दिन राजधानी बेइजिङमा उच्चस्तरीय भेटघाटमा सहभागी हुनुहुने त्यहाँस्थित नेपाली दूतावास स्रोतले बताएको छ । भ्रमण टोलीमा सहभागी अरु दर्जनौं व्यवसायीहरु अरु नै उडानमा जाने कार्यक्रम छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई प्रधानमन्त्री,मन्त्री र सरकारी अधिकारीहरु सवार हुने हिमालयन एअरलाइन्सको सोमबार बिहानको चार्टर उडानमा सम्मिलित गराइनेछ ।
टिप्पणीहरू