व्यवस्थाको विकल्पमा अनुकूल परिस्थिति बनेको वैद्यको दाबी
क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मोहन वैद्यले राज्यसत्ताको विकल्पको खोजी गर्ने बेला आएको बताएका छन् ।
सत्तारुढ दल र सरकारप्रति जनतामा आक्रोश बढदै गएकाले व्यवस्थाको विकल्प खोज्नेहरुका लागि अहिले अनुकूल परिस्थिति बनेको दाबी गरेका हुन् । आजदेखि काठमाडौंमा शुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै वैद्यले यसलाई क्रान्तिकारीहरुले उपयोग गर्नुपर्नेमा जोड दिए ।
कम्युनिष्ट आन्दोलन अहिले कमजोर अवस्थामा रहेको स्वीकार गर्दै उनले अहिलेको परिस्थिति हेर्दा आगामी दिनमा बलियो भएर जाने विश्वास व्यक्त गरे । मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले लिने पनि वैद्यको दाबी छ ।
‘सरकार सञ्चालक राजनीतिक दलहरु र समस्त व्यवस्था तथा राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश तथा वितृष्णा बढ्दै जाने र विकल्पको खोजी गर्ने अवस्था पैदा हुन थालेको छ', उनले भने, 'एकातिर क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकुल बन्दै जान थालेको देखिन्छ । अर्कोतिर आत्मागत परिस्थिति भने कमजोर नै रहेको छ । तर यो पनि अस्थायी कुरा हो । परिस्थितिले कोल्टे फेर्दै जानेछ ।'
टिप्पणीहरू