रवि पोखराबाट उडे, कार्यकर्तालाई एयरपोर्ट बोलाइयो

रवि पोखराबाट उडे, कार्यकर्तालाई एयरपोर्ट बोलाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्तालाई एयरपोर्ट बोलाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन लागिएपछि रास्वपाले काठमाडौँमा उपलब्ध नेता-कार्यकर्तालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित हुन भनेको हो । केन्द्रीय सदस्य दिपक बोहराले सभापति लामिछानेलाई साढे पाँच बजेको उडानबाट काठमाडौं ल्याउन लागेको जानकारी गराउँदै एयरपोर्ट आउन आग्रह गरे । 

कास्की प्रहरीका अनुसार बुद्ध एयरको ९एन-एएनएच कलसाइन भएको जहाज साँझ सवा ५ बजे पोखराबाट उडिसकेको छ । 

लामिछाने गत कात्तिक २ गते बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । सोही दिन पोखरा पुर्याइएका उनीविरुद्ध ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान भैरहेको छ । 

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलनमा मुछिएका उनलाई आज बयानका लागि काठमाडौं ल्याउन लागिएको हो । लामिछानेलाई सोमबार नै काठमाडौँ ल्याउने तयारी गरिएकोमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरे आमाको स्वास्थ्य उपचारको लागि बिदामा बसेपछि उतै रोकिएको थियो ।

टिप्पणीहरू