सिंहदरबारमा दिनहुँ विदेशी पाहुना, फिनिसअघि चिनियाँ
नेपाल भ्रमणमा रहेका फिनल्याण्डका विकास सहयोग तथा वैदेशिक व्यापारमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गर्नुभएको छ । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री भिल्ले टपानी टाभियोले आज बिहान साढे ११ बजेदेखि झण्डै एक घण्टा सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कुराकानी गर्नुभएको हो ।
फिनल्याण्डको पाँच सदस्यीय उच्चस्तरीय टोली चार दिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेको थियो । टोलीले फिनल्याण्डको सहयोगमा सञ्चालित विभिन्न आयोजनाको समेत अवलोकन भ्रमण र युएन वुमन्स प्रोजेक्टको स्थलगत भ्रमण गरेको बुझिएको छ ।
टोलीमा मन्त्रीका विशेष सल्लाहकार टुओमास टापिओ पेटेरी, उपमहानिर्देशक रामेशेस नागुयीब मालाटी, डेस्क अफिसर एलिना कटरिना हमालैनान र माट्स ओस्कार छन् । मन्त्रीले युरोपियन युनियन, फिनल्याण्ड र नेपालको संयुक्त पञ्चवर्षे शैक्षिक परियोजना टेक्सेसको शुभारम्भ गर्नुभएको छ ।
यसले विशेषगरी शिक्षकहरुको शैक्षिक विकासमा जोड दिने गरेको छ । नेपाल र फिनल्याण्डबीच २५ वर्षदेखि शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान हुँदै आएको छ । यो वर्ष नेपाल र फिनल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ ।
यसअघि हिजो उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग उहाँको कार्यकक्षमा चीनको सिचाङ –तिब्बत) स्वायत्त क्षेत्रका उप गभर्नर छन योङ्गिछले भेटवार्ता गर्नुभएको थियो । तीन दिने औपचारिक भ्रमणका लागि हिजै बिहान काठमाडौँ आइपुग्नुभएका उपगभर्नरले अपरान्ह ४ बजेदेखि एक घण्टा उहाँसँग कुराकानी गर्नुभएको थियो ।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङसहित भेटमा टोली सदस्यहरु लि काइसिन, पाओ थिङ, त चन, लि ह्वा छिङ र सुन थिआन्लीको उपस्थिति रहेको बताइन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा नेपालसँग सीमाना जोडिएको तिब्बतका उपगभर्नरको काठमाडौँ आगमनलाई चासोका साथ हेरिएको छ । नेपाललाई हरेक वर्ष २० लाख युआन बराबरको सहयोग दिने तिब्बत सरकारको यसअघिको निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन । उक्त सहयोग विशेषगरी नेपालसँग सीमाना जोडिएका जिल्लामा खाद्यान्न र अत्यावश्यक सामानको लागि प्रयोग हुने बताइएको छ ।
टिप्पणीहरू