रविलाई विमानस्थलबाट सोझै भद्रकाली लगिँदै

रविलाई विमानस्थलबाट सोझै भद्रकाली लगिँदै
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ । झण्डै डेढ महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुद्ध एयरको ९एन–एएनएच कलसाइन जहाजमार्फत् साँझ काठमाडौँ ल्याइएको छ ।

लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याईंदैछ । काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले उनलाई आजको रात भद्रकालीमै राख्ने र भोलि बिहानै सरकारी वकिल कार्यालयमा उपस्थित गराइने बताए । 

उनले जनआस्थासँग भने, ‘भोलि बिहान फस्र्ट आवरमा सरकारी वकिलको कार्यालयमा लैजान्छौँ ।’

लामिछाने प्रबन्धक निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारालगायतका सहकारीबाट करोडौँ रकम गैरकानुनी ढंगले प्रवाह भएको संसदीय विशेष छानबिन समितिको निश्कर्षका आधारमा समातिएका उनको कास्की र रुपन्देहीमा बयान भइसकेको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धमा बयानको लागि काठमाडौँ ल्याइएको हो । 

पोखराबाट रुपन्देही लैजाँदा जहाजको अन्तिम सिटमा राखिएका लामिछानेलाई आज काठमाडौँ ल्याउँदा पनि अन्तिम सिटमै राखिएको थियो छ । 

सभापति लामिछानेलाई काठमाडौँ ल्याइने खबर बिहानैदेखि थाहा पाएका रास्वपाका कार्यकर्ताहरु एयरपोर्टमा जम्मा भएर जुलुस निकालेका छन् । प्रहरीले विमानस्थलभित्रै गाडीमा राखेर निकालेपछि कार्यकर्ताले लामिछानेको अनुहार भने देख्न पाएनन् ।

टिप्पणीहरू