सुब्बा समातिए,सिडियो सेकिए
जिल्ला प्रशासन कार्यालय महोत्तरीका एक कर्मचारी घुससहित रंगेहात समातिएको प्रकरणमा सिडिओ लालबाबु कवारीलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ । गृहमन्त्री रमेश लेखकले उनलाई सिंहदरबार बोलाएर हिजो स्पष्टीकरण मागेका हुन् ।
गत हप्ता प्रशासन कार्यालयका सुब्बा अशोककुमार यादवलाई बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको थियो । कवारीले सिडिओको जिम्मेवारी सम्हालेको महिना दिन नपुग्दै समातिएका उनी गत असारदेखि नै अख्तियारको निगरानीमा थिए ।
एकातिर अख्तियारको निगरानी, अर्कोतिर सिडिओको चेतावनीका बाबजुद सवारी दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति रकम दिलाउने सन्दर्भमा घुस बार्गेनिङ्ग गर्दै आएका यादव अन्तत: अख्तियारको फन्दामा परेका हुन् । शिवराम गेलाल दोलखा सरुवा भएपछि कात्तिक दोस्रो साता गृहजिल्लामै कार्यभार सम्हाल्न पुगेका एक मात्र मुस्लिम सिडियो कवारीको समेत सिग्नलमा अख्तियार टोलीले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको बताइएको छ । त्यसबखत कवारी भने शुक्रबारको दिन परेकाले नवाज पढ्न मस्जिद गएका थिए ।
बर्दिबासस्थित अख्तियारका प्रमुख रामबहादुर कुरुम्वाङले भने- "अहिलेका सिडिओले गलत गतिविधि नियन्त्रण गर्न खोजेकै हो, त्यो हामीले पनि महसुस गरेका छौँ !' प्रशासन कार्यालयका कर्मचारी घुससहित पक्राउ पर्दा सिडिओ जिम्मेवार हुनुपर्ने कतिपयको तर्कमा उनले प्रस्ट्याउँदै अगाडि भने- अधिकार प्रत्यायोजन नगरे पनि सरकारको प्रतिनिधि हुनुको नाताले सिडिओ कार्यालय पनि अख्तियारकै एउटा अंग हो । आफ्नो कार्यालयमा भएका गलत क्रियाकलापका लागि नैतिकरुपमा जिम्मेवार त ठानिएला तर उहाँले घुस माग्ने कर्मचारीलाई सचेत गराउँदै आएको हामीलाई जानकारी थियो । हाम्रो स्टिङ अप्रेशनका क्रममा पनि झपार्दै गाली गर्नुभएको थियो ।
पहिले रकम कलमको मामिलामा चर्चित रही काँग्रेस सहमहामन्त्री फर्मुल्हा मन्सुरको सिफारिसमा त्यहाँ पुगेका कवारी अहिले डामिनुका पछाडि महोत्तरीको स्थानीय राजनीति जोडिएर आउने जानकारहरु बताउँछन् ।
बताइएअनुसार मधेश सिन्चाई आयोजनामा एक वर्षदेखि रन्धिर झा प्रमुख थिए । उनको ठाउँमा सर्लाहीबाट कलामुध्दिन अन्सारीलाई सरुवा गरी ल्याइयो । कांग्रेस जिल्ला अध्यक्ष नागेश्वर यादवलगायतका नेताहरुको जोडबलमा उनलाई त्यहाँ ल्याइएकोमा एक महिना नबित्तै फेरि रन्धिर नै आइपुगे ।
तर,कांग्रेस नेताहरुले कलामुध्दिनलाई कुर्सी नछोड्न उक्साएपछि रन्धिरलाई हाजिर गराउने विषयमा विवाद शुरु भयो । विवाद बढ्दै जाँदा यो विषय सिडिओसम्म पुग्यो । तर, सिडिओ कवारीले 'मन्त्रालयले जसलाई नियुक्ति पत्र दिएर पठाएको छ,उसैलाई हाजिर गराउने' भन्न थालेपछि कांग्रेस टोली असन्तुष्ट बन्यो । यहीबीच घुस काण्डमा प्रशासन कार्यालयका कर्मचारी समातिएपछि कांग्रेस नेताहरुले त्यसैलाई सिडिओविरुद्ध मोर्चाबन्दी गर्ने अवसर बनाए । र,सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखककहाँ डेलिगेशन गए । उनीहरुले कवारीविरुद्ध चुक्ली लगाएको मन्त्रीको सचिवालयका एकजनाले जनआस्थालाई बताए ।
स्मरण रहोस्,बालकृष्ण खाँण सिन्चाईमन्त्री भएकै बेलादेखि जिल्लामा आफू अनुकुल हाकिम लगेर सिन्चाईको ठेक्का हात पार्न पल्केका कांग्रेस नेताहरुले कवारीलाई हटाउन देउवा र लेखकलाई गुमराहमा राखेर गलत रिपोर्टिङ्ग गरेका त होइनन् ? भन्ने आशंका पैदा भएको छ ।
कतिपयले चैँ जलेश्वरमै जन्मेर त्यहीँ पढाईलेखाइ गरेका कवारीको लोकप्रियताप्रति डाह गर्नेहरुका कारण पनि उनीविरुद्ध एउटा तप्का भित्रभित्रै लागेको अनुमान गरेका छन् । सिडिओको जागिर सकेर १ बर्षपछि कवारी राजनीतिमा आउनसक्ने सम्भावना पनि छँदैछ ।
त्यसो त,सरकारी सेवामा रहँदा लालबाबु कवारीबाट भएका अनेकन त्रुटीका कारण अहिलेसम्म पनि आलोचना हुने गरेको छ । 'तर, त्यसैलाई लिएर मिडियाले पटक-पटक नखेदिदिए हुन्थ्यो',उनका सहपाठीहरु भन्छन् 'स्वार्थ समूहले गरेको चुक्लीबाट गृहमन्त्री पनि जोगिनुपर्छ ।'
टिप्पणीहरू