सञ्जालमा मनपरी लेख्नेलाई नछोड्ने सुर
सरकारले सामाजिक सञ्जालमा जथावाभी लेख्नेलाई कानुनबमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्रीलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताको नामै किटेर सञ्जालमा घृणाजन्य टिकाटिप्पणी भैरहँदा गृह मन्त्रालयले सतर्क गराएको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति दिइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्धेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने घृणाजन्य अभिव्यक्तिलाई निरुत्साहित गर्न कानूनी व्यवस्था रहेको जनाउँदै मन्त्रालयले जहाँसुकै रहेर त्यस्ता गतिविधि गरेमा कारबाही हुने स्पष्ट पारेको छ ।
भनिएको छ, ‘जोकोही व्यक्तिले जहाँसुकै रहेर गरे गराएपनि कानूनद्धारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ ।’
टिप्पणीहरू