उता बयान जारी, यता थप हिरासतमा राख्न अनुमति

उता बयान जारी, यता थप हिरासतमा राख्न अनुमति
सुन्नुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रहरीले मंसिर ५ गते पक्राउ गरेको थियो । विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा प्रसाईं पक्राउ परेका हुन् ।

यसअघि मंसिर ९ गते उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । विद्युतीय अपराध नियन्त्रण ऐन, गाली बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुनेलगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । उनले प्रधानमन्त्री ओलीको कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबरको लगानी रहेको दाबी गर्दै सामाजिक सञ्जालमा विवादास्पद र नक्कली कागजात सार्वजनिक गरेका थिए ।

उता, रास्वपा सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेमाथिको बयान जारी छ । कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई आज बिहान काठमाडौंबाट चितवनको भरतपुुर पुर्याएपछि सरकारी वकिलहरुले बयान लिएका छन् । बयानको क्रम जारी रहेको बताइन्छ । 

यसअघि रविलाई पोखराबाहेक काठमाडौं र भैरहवामा पनि बयान लिइसकिएको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरण अभियोग लागेको  छ ।

टिप्पणीहरू