सभामुख सीके राउतको आरोपप्रति गम्भीर
आफ्नो राजीनामा मागिएको जनमत पार्टीको विज्ञप्तिप्रति सभामुख देवराज घिमिरेले आपत्ति जनाउनुभएको छ । संसदमा कुनै पनि जात, वर्ण, रंग, लिंग, समुदाय, भाषा तथा धर्मको आधारमा विभेद नभएको र नहुने स्पष्ट पार्दै उहाँले जनमतको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।
जनमत पार्टीले मधेश केन्द्रित सांसदहरुमाथि सभामुख घिमिरेले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै राजीनामा मागेको छ । पार्टीले प्रक्रिया पुर्याएर कारवाही गरेको सांसदलाई सभामुख घिमिरेले नातेदार भएकै कारण संरक्षण गरिरहेको जनमतको आरोप छ । तर सभामुखले भने उक्त आरोपमा कुनै सत्यता नभएको बताउनुभएको छ ।
सभामुखको तर्फबाट संसद सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालयले सो (सूचना टाँस) विषयमा नेपालको संविधान र सम्बन्धित कानूनहरु (प्रतिनिधिसभा नियमावली, २०७९ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३) का प्रावधानहरुको व्यवस्थाबमोजिम निर्णयार्थ पेश गरेको र सम्माननीय सभामुखले कानूनबमोजिम निर्णय गर्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’
साथै, कानुनी राज्यमा हरेक कामकारबाहीहरु कानूनबमोजिम हुनुपर्दछ भन्ने विषयमा सचिवालय सचेत रहेको पनि विज्ञप्तिमा जानकारी गराइएको छ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै सोबारे सूचना टाँस गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो । तर सभामुख घिमिरेले सांसद सापकोटाले पद नै जानेगरी कुनै काम नभएको ठहर गरेपछि विवाद उत्पन्न भएको हो ।
टिप्पणीहरू