स्वास्थ्यका दुई कर्मचारीलाई मन्त्रालयको पूर्जी
बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले आठौं तहको आयुर्वेद चिकित्सक सुइरा जोशीलाई कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, धादिङबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रसुवा सरुवा भएकी उनी बिना जानकारी लामो समयदेखि गैरहाजिर रहेपछि मन्त्रालयले सार्वजनिक सूचना निकालेर १५ दिनभित्र हाजिर हुन भनेको हो । उनी २०७९ चैत १९ गतेदेखि गैरहाजिर रहेको मन्त्रालयले जनाएको छ ।
तोकिएको समयभित्र स्पष्टीकरणसहित उपस्थित नभएमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।
त्यसैगरी, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पतालमा कार्यरत पाँचौं तहको ल्याब टेक्निसियन सरिता पौडेललाई पनि मन्त्रालयले स्पष्टीकरण सोधेको छ । २०७९ चैत ३ गतेदेखि गैरहाजिर उनलाई १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
‘श्री सरिता पौडेल मिति २०७९–१२–०३ गतेदेखि निरन्तर रुपमा साठी दिनभन्दा बढी अस्पतालमा हाजिर हुनुभएको नदेखिएको र नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ५९ (६) बमोजिम बिदा स्वीकृत गरेको नपाइएकोले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (ज) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने हो ? सफाइ–स्पष्टीकरण यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र पेश गर्नुहुन...’,सूचनामा उल्लेख छ ।
टिप्पणीहरू