चोपनारायणको छोरा उनलाई 'रोल मोडल'

चोपनारायणको छोरा उनलाई 'रोल मोडल'
सुन्नुहोस्

सन्तोषनारायण श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेपछि आगामी चैतदेखि रिक्त हुने राष्ट्र बैंकको गभर्नरका लागि पनि सोही मोडल अपनाउन शक्ति केन्द्रमा दौडधुप जारी छ । सरकारले कांग्रेस नेता तथा बुटवलका यातायात व्यवसायी चोपनारायण श्रेष्ठका छोरा सन्तोषलाई लामो रस्साकस्सीपछि गत साता त्यहाँ नियुक्त गरेको थियो ।

उनी राजनीतिक र वैचारिक हिसाबले नेपाली कांग्रेसनिकट हुन् । तर प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्मलाई उनको नियुक्तिमा मौन बसिदिन बिचौलिया दीपक भट्टले अनुरोध गरेका थिए । आगामी चैत २४ गतेपछि रिक्त हुने गभर्नरमा पनि सोही मोडलबाट उम्मेदवार तोक्ने तयारी भैरहेको छ । कांग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी कम्तीमा एक पटक खल्तीको व्यक्तिलाई गभर्नर बनाएर नबिल बैंक, एनबी इन्टरनेशनललगायतको लफडामा आफूमाथि झुण्डिएको तरबार हटाउन चाहन्छन् । यसका लागि साढे २ वर्षअघि बहालरत महाप्रसाद अधिकारीलाई हटाएर बाँकी अवधि नबिल बैंकका सिईओ ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गराउन राम्रै चलखेल गरेका थिए । अब पाँचै वर्षका लागि ढुंगानालाई गभर्नर बनाउने भन्दै उनी कस्सिएपछि कांग्रेसभित्र बेग्लै सरगर्मी छ ।

सबैभन्दा पहिले बैंक अफ काठमाडौं, त्यसपछि राष्ट्र बैंक हुँदै लक्ष्मीबहादुर र जीतबहादुरको योजनामा ढुंगाना बंगलादेश बैंक छिरेका थिए । बंगाली लगानीकर्ता र चौधरीको योजनामा नबिल बैंकसँग मर्ज गरेसङ्गै उनलाई गभर्नर बनाउन चौधरीले पहिले २ वर्षको मात्रै कार्यकाल तोकिदिए । गत असारदेखि भने २ वर्ष थपेर बालुवाटारस्थित केन्द्रीय बैंंकमा पुर्‍याउने रोडम्याप तय गरिएको छ ।

परिवारका अधिकांश सदस्य अष्ट्रेलियामा बस्ने उनी निरन्तर त्यता जाउआउ गरिरहन्छन् । पछिल्लो समय केन्द्रीय बैंकका बोर्ड सदस्य सबै सोही बैंकबाट अवकाशप्राप्त कर्मचारी हुन् । नबिल बैंक र चौधरीका धेरै वटा समस्यामा बैंकले आँखा चिम्लिने गरेको आरोप बैंक पदाधिकारी र कर्मचारीहरूमाथि लाग्ने गरेको छ । क्याबिनेटमा निगरानीका लागि चौधरी र ढुंगानाको योजनामा नबिल बैंकका एक जना कर्मचारीलाई ऊर्जा मन्त्रालयतिर काजमा खटाइएको छ । सामान्यतयाः पब्लिक लिमिटेड कम्पनीका कर्मचारीलाई मन्त्रालयमा काज खटाइँदैन । नबिलका सिनियर म्यानेजर अमित श्रेष्ठ यसरी ऊर्जामन्त्री दीपक खड्काको सचिवालयमा खटाइएका हुन् । यता नबिलको आर्थिक अवस्था खस्कँदो क्रममा रहेको कर्मचारी नै बताउँछन् । लोन लस प्रोभिजनका कारण बैंक अप्ठेरोमा पर्दै गएको छ । ती ऋण अधिकांश ढुंगाना सिइओ बनेर आएपछिका हुन् ।

स्रोत भन्छ, ‘तत्कालीन नेपाल बंगलादेश बैंकका कतिपय खराब ऋणीलाई नबिलले सुनपानी छर्कँदै करोडौं लगानी गरेको देखिन्छ । यही अवस्थामा चौधरीको योजनाअनुसार बैंकको गत आर्थिक वर्षको नाफाबाट लाभांश सबै नगदमा वितरण गर्न लागिएको छ ।’ चौधरीको योजनाअनुसार काम फत्ते भए आगामी चैतमा ढुंगानालाई गभर्नर र नबिलका अध्यक्ष उपेन्द्र पौडेललाई बैंकको रिक्त सञ्चालकमा नियुक्त गर्ने खेल छ । पौडेल लामो समयदेखि चौधरी परिवारसँग घनिष्ठ सम्बन्ध राख्दै आएका बैंकर हुन् ।
 

टिप्पणीहरू