एक मतको मूल्य १५ हजार १५१
निर्वाचन जित्न कुनै उम्मेदवारले खर्चिएको रकम नभई मतपत्र ओसार्नका लागि राज्यले खर्चेको हिसाब हो यो । आइतबार ४१ वटा स्थानीय तहका लागि भएको उपनिर्वाचनमा २९३ वटा मतदान केन्द्र थिए । तिनैमध्ये एउटा केन्द्रमा गाडीबाटै पुग्न दुई दिन लाग्ने भएपछि जंगी अड्डालाई गुहारियो । सेनाको हेलिकप्टरबाट १५ मीनेटमा मतपत्र सदरमुकाम चरिकोट ल्याएर मतगणना सम्पन्न गरियो । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि भएको निर्वाचनमा मतदान केन्द्र १२ वटा र २१ वटा बुथ थिए । जसमध्येको हो रोल्वालिङको बेदिङ मतदान केन्द्र । केन्द्र च्छो रोल्पा तालमुनि पर्छ ।
सदरमुकामबाट लामाबगर अपर तामाकोशीसम्म गाडी जान्छ । त्यहाँबाट अर्काे २ दिन लगाएर मतदान स्थल पुग्नुपर्ने हुन्छ । यसअघिका निर्वाचनमा कहिले हेलिकोप्टरमार्फत त कहिले मानिसबाटै बोकाएर मतपत्र ल्याउने गरिन्थ्यो । यसपटक भने सेनाको हेलिकप्टर पठाइयो । जम्मा १०३ मतदाता रहेकोमा ३३ मत मात्र खस्यो त्यहाँ । सोही मतपत्र ल्याउन काठमाडौंबाट हेलिकप्टर गएको हो । १५ मीनेटको उडान खर्च पर्यो ५ लाख । यो हिसाबले एक मतको मूल्य १५ हजार १५१ रुपैयाँ हुन आउँछ । सो ठाउँबाट एमालेकी उमा लुंगेली मगर २८०५ मतसहित विजयी हुँदा माओवादी उम्मेदवार निम लेकी शेर्पाले २६ सय मत प्राप्त गरेकी छन् ।
उता, कच्चा वैद्यको जात्रा यमपुरीको यात्रा भनेझैं भयो उदयपुरको बेलका नगरपालिकामा । त्यहाँ खटाइएका निर्वाचन अधिकृतले यस्तो कच्चापना देखाइदिए कि दुई वटा मतपत्र गन्दा एउटा बदर । ५ सय मतपत्र गन्दा २२० मत बदर । सदर र बदर मतको विषयमा दलबीच विवाद यति तीव्र भयो कि पछि त सर्वदलीय बैठक नै राख्नुपर्यो । निर्वाचन आयोगसँग राय मागियो । बदर मत पुनः गणना गर्न आयोगले सुझाएपछि बल्ल मतगणना शुरु भयो । त्यहाँ निर्वाचन अधिकृत मनोजप्रसाद गुप्तालाई खटाइएको थियो । मसी लागेका स्वस्तिक छाप बढी प्रयोग भएका मतपत्र धमाधम बदर भएसँगै रातभर लफडा चलेकोमा पछि गणना निर्देशिकाअनुसार पुनः मतगणना गर्न निर्वाचन आयोगले राय दिएको थियो । त्यहाँबाट माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे ५५९ मतका साथ विजयी हुँदा यसअघि कांग्रेसका उम्मेदवारले जितेको उक्त वडामा नवराज बस्नेतले ४०४ मतमै चित्त बुझाउनुपरेको छ ।
४१ वटा स्थानीय तह उपनिर्वाचनको मतपरिणामले भन्छ, मतदाताहरू अझै पनि कम्युनिष्टसँग छन् । स्थान, पात्र उही तर मतदाता उही पहिलाभन्दा भन्दा झण्डै ११ प्रतिशत कम मत खसेको छ । कीर्तिपुरमा माओवादीले संगठन विस्तार गरेको पनि होइन तर त्यहाँ रास्वपा वा एकीकृत समाजवादीबाट शिवशरण महर्जनलाई मत गयो भनिँदै छ । त्यहाँबाट माओवादी उम्मेदवारले ०७९ को तुलनामा अहिले ४६५ बढी मत पाएका छन् । उनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्दा एमालेबाट सदैव किनारामा पारिएका सुरेन्द्र मानन्धर ४ हजार ३ सय ३७ मतसहित तेश्रो पोजिसनमा रहे । यो ठाउँमा ०७९ मा ७९ प्रतिशत मत खसेकोमा अहिले ६८ प्रतिशत हाराहारी मात्र मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कीर्तिपुरमा रास्वपाले कुनै उम्मेदवार उठाएको थिएन ।
उम्मेदवारी फिर्ता लिने एकीकृत समाजवादीका भानु रिजाललाई ५२ मत गएको छ । स्वतन्त्र उम्मेदवार मात्र त्यहाँ १२ जना थिए । जसमा राजमान मानन्धरले २०३६, कविकुमार महर्जनले १३१४, दिनेश अधिकारीले १०४८ मत ल्याउँदा राप्रपाका उम्मेदवार ध्रुव महर्जनले ९९५ मत पाएका छन् । यस्तै मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले २९६ मत भेटेको देखिन्छ । कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले ५ हजार ३ सय ३४ मत पाएर कम्युनिष्टको लालकिल्ला भत्काएका छन् ।
कीर्तिपुरको मतपरिणाम हेर्ने हो भने कम्युनिष्टको मत अत्यधिक छ । उता, काठमाडौं १६ मा अप्रत्यासित रुपबाट रास्वपाकी रोजिना श्रेष्ठ उदाइन् । एमालेका पूर्वमन्त्री रामवीर मानन्धर र रास्वपा केन्द्रीय कार्यालय रहेको ठाउँ हो त्यो । जहाँ सबैभन्दा कम अर्थात ४२ प्रतिशत मात्र मत खसेको छ । यसरी झण्डै ५८ प्रतिशत मतदाता नआउँदा रास्वपालाई स्थानीय तहमा खाता खोल्न सहज भएको भनिँदै छ । कीर्तिपुरमा माओवादी उम्मेदवार उठेको ठाउँमा रास्वपाले उम्मेदवारी नदिनु र रास्वपा उठेको काठमाडौं–१६ मा माओवादीले मैदान खाली गरिदिनुभित्र ०८४ को तालमेल त लुकेको छैन भन्ने अर्थ लगाइँदै छ ।
भलै, कीर्तिपुरमा माओवादीलाई समाजवादीले र काठमाडौं १६ मा एकीकृत समाजवादीलाई माओवादीले सघाउने सहमति थियो । त्यहाँ रास्वपाकी रोजिना श्रेष्ठले २९०२ मत पाउँदा एमालेका लक्ष्मीरत्नले २२२०, नेपाली कांग्रेसका देवेन्द्र पाठकले २२१४, एकीकृत समाजवादीका मीनबहादुर महर्जनले १०९२ मत पाएका छन् । माओवादीको काठमाडौं महानगरपालिकामा एउटा पनि सदस्य छैन । १६ वडाअन्तर्गत चार वटा मतदान केन्द्र रहेमध्ये मतदानस्थलमा ५० माथिका वृद्धवृद्धा कम देखिए । पुराना कांग्रेस, कम्युनिष्ट मतै हाल्न गएनन् ।
मतदान प्रक्रियामा भाग लिनेमा २० देखि ४५ उमेर समूहका बढी रहेको आयोगले जनाएको छ । बालाजु, नयाँबजार, खुसिबु, म्हैपी क्षेत्रका कर्मचारी बिदा नपाएका कारण मतदानमा सहभागी नहुनुलाई पनि रास्वपा जित्नुको कारक मानिएको छ । रोजिनालाई काठमाडौंका मेयर बालेन साहको गोप्य सहयोग थियो भन्नेहरू पनि छन् । यसपालि सबैतिर कम्युनिष्ट पार्टीबीच नै चुनावी प्रतिस्पर्धा भएको मतपरिणामले देखाउँछ ।
टिप्पणीहरू