सुब्बाका निम्ति गठबन्धनमा संकट
एउटा सुब्बा तहको कर्मचारी सरुवा गर्न बूढानीलकण्ठ, बालुवाटारदेखि सरकारका दुई मन्त्री नै हात धोएर लाग्दासमेत केही सीप चल्दैन भने भनिदिए हुन्छ– मुलुक उनै पशुपतिनाथकै कृपाले चलिरहेको रहेछ ।
निजामतीभित्रको ‘बालेन’ भनी चिनिएका केटालाई सरुवा गराउन कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीयदेखि उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, सचिव भरतमणि सुवेदीदेखि कांग्रेसनिकट कर्मचारी ट्रेड युनियनकर्मी भिड्न लागेको महिनौं भयो । आश्चर्य, सारा शक्ति लाग्दासमेत पार लागेको छैन । मुद्दा यति पेचिलो बनिसक्यो कि, उपप्रधानमन्त्री प्रकाशमान सिंहले त तत्काल सरुवा नगरे गठबन्धनमै कुरा उठाउने चेतावनीसमेत दिइसके सामान्य प्रशासन मन्त्रीलाई ।
दल समर्थित ट्रेड युनियनको नेता हुन खोज्नेहरूका भीडमा दलै बिनाको स्वतन्त्र ट्रेड युनियन दर्ता गरेर ०७९ सालदेखि काउसो सावित भइरहेका उनै पशुपति पोखरेलले हो मन्त्रीदेखि सचिवसम्मलाई हत्तु खेलाइरहेको । अधिवेशन गर्न नसकेर अवैध भइसकेको आधिकारिक ट्रेड युनियनका कावा अध्यक्ष भोला पोखरेल उनका भतिज हुन् । पशुपति ‘बिग ६’ मानिएका राष्ट्रपतिदेखि मन्त्रीहरूसम्मलाई सामान उपलव्ध गराउने संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा स्टोरकिपर छन् ।
उनलाई त्यहाँबाट जसरी पनि हटाउने र भानु देउवाका बहिनी–ज्वाइँलाई पठाउने क्रममा यो लफडा निम्तिएको बुझिएको छ । भानुका बहिनी ज्वाइँ सुनिल रोकाय पनि सुब्बा तहमै कार्यरत छन् । पोखरेललाई हटाएर आफ्ना मान्छे पठाउन कांग्रेस ट्रेड युनियनकर्मी शहरी विकास मन्त्री सीता गुरुङकै पालादेखि लागेका हुन् ।
योजनाअनुरुप बझांगे सुनिललाई शहरी विभाग हुँदै उक्त कार्यालयमा पठाइएको थियो । तर दुई महिनासम्म पशुपतिले रमाना दिएनन् । शहरीले सात दिनभित्र रमाना दिन पत्र काट्यो । पशुपतिहरूले अर्काे खेल खेल्दै सामान्य प्रशासनमार्फत सुनिललाई गृहमा सरुवा गराइदिए । कमल भट्टराईहरूमार्फत त्यसरी गृहमा सरुवा गराइएको चाल पाएपछि भानु देउवा शहरी विकासमन्त्री प्रकाशमान सिंहदेखि रिसाए । प्रकाशमानले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई टेलिफोनै गरेर पशुपतिलाई तत्काल हटाई जसरी भए पनि सुनिललाई संघीय शहरी आयोजनामा पठाउन आग्रह गरे अन्यथा गठबन्धन बैठकमा कुरा उठाउने चेतावनीसमेत दिए । उपप्रधानमन्त्रीको यो घुर्कीपछि सामान्यले गृहमा भइसकेको सरुवा उल्टाएर अहिले फेरि शहरीमा ल्याएको छ । अबको केही दिनमै अर्बाैं बजेट चलाउन पाइने संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्टोर सुनिलको हातमा पुग्दैछ ।
टिप्पणीहरू