आलेले देउवालाई झुक्याउन खोज्दा
डोटीबाट लगातार तीन पटक जित्न सफल प्रेम आलेमगरले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई झुक्याउन खोजेको तथ्य बाहिर आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने र माधव नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी) सहितका दल फुटाउने चर्चा चलिरहेका बेला आले देउवाको घर बूढानीलकण्ठमा पटकपटक गएका थिए । सो क्रममा उनले अध्यादेश ल्याउनुस्, समाजवादी छोडेर हामी कांग्रेसमा आउँछौँ भनेका थिए ।
आलेको त्यो भनाइलाई धेरै दिन चुपचाप सुनेर देउवाले टाउको मात्र हल्लाइरहे । सो कुरालाई लिएर आलेले धेरै पत्रकारलाई म देउवा निवासबाट निस्केँ, अध्यादेश आउँछ, समाजवादी फुटाउँछाैँ, त्यसैले समाचार लेख्नुस् भनी फोन गरेका थिए । सोही आशयको प्रश्न भर्खरै प्रसारित माधव नेपालसँगको अन्तर्वार्ताका क्रममा अन्तर्र्वार्ताकार राजेन्द्र बानियाँले गरेका छन् ।
तर, अन्तिम भेटमा देउवाले आलेलाई किन समाजवादी पार्टी फोड्ने, अहिले नै कांग्रेसमा आउनु भनेका थिए । सो बेला किसान श्रेष्ठ पनि सँगै थिए । देउवाको सो कुरा सुनेपछि आलेले अहिले कांग्रेस हुँदा सांसद पद जान्छ भने । आलेलाई तत्काल हपार्दै देउवाले गए के भो त फेरि चुनाव हुन्छ, जितेर आउनुस् भनेका थिए । त्यसपछि भने आले जवाफविहीन भएर हिँडेको बताइन्छ ।
आले देउवालाई मित बा भन्दै बूढानीलकण्ठमा झुल्किरहन्छन् । भतिज प्रकाश देउवा जो सुदूरपश्चिम प्रदेश सभा सदस्य र सुदूरपश्चिममा मन्त्री भइसकेका छन्, उनलाई मित भन्छन् । त्यही नाताको फाइदा लिएर वीरबहादुर बलायरजस्ता बलिया नेतालाई कैलाली क्षेत्र नम्बर ४ मा पठाई कांग्रेससँगको गठबन्धनबाट ०७९ को चुनाव जितेका थिए । यो काममा प्रकाश देउवा निकै सहयोगी भएको आलेले बताउँदै आएका छन् ।
यद्यपि, आलेले एमाले कालमा पनि झलनाथ खनाल, माधव नेपाल, केपी ओली, भीम रावल, सुरेन्द्र पाण्डे, कर्णबहादुर थापा लगायतलाई पटकपटक झुक्याउन सफलता पाएका छन् । समाजवादीमै भएपछि पनि माधव नेपाललाई झुक्याउन सफल भएर दुई पटक मन्त्री भइसके ।
हुन त चुनावका बेला देउवालाई फकाउन सके कांग्रेस नै हुने अनुमान गर्नेको संख्या कम छैन । उनी ०४९ मा कांग्रेसले जिम्मेवारी नदिएपछि ०५३ देखि एमाले भएका हुन् । एमालेलाई कुट्ने आले हाल अमेरिकामा रहेका पत्रकार र तत्कालीन एमाले नेता शंकर थापाको पहलमा तत्कालीन जिल्ला सचिव नन्दलाल जोशी र हाल गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको पहलमा एमाले छिरेका थिए ।
उनका कुरा नपत्याएर थापाले ३५ पेज लामो नेपाली (ताउ) कागजमा कांग्रेसको आलोचना र एमालेको पक्षमा लेख्न लगाएर एमाले हुने निवेदन लिएका थिए । सो कागजको कुरा पनि जोशी र भट्टले नपत्याउँदा बुडरस्थित भिएएचएफ फोनबाट एमाले हुनेबारे अन्तर्वार्ता लिइएको थियो ।
एमाले भएपछि भने ०५४ मा डोटी जिल्ला विकास समितिको सदस्य बने, ०६४ देखि लगातार उम्मेदवार भएर तीनपटक संघको सांसद, दुई पटक मन्त्री, एमाले र समाजवादीको केन्द्रीय नेता भएका छन् । तर जोशीले केही पाएका छैनन्, भट्टले बल्ल गण्डकी प्रदेशको प्रमुखको जिम्मा पाएका छन् भने थापा अमेरिकातिर भास्सिएका छन् ।
बलायरलाई मन्त्री बनाउन सोडारीको लबिङ
यसैबीच, अघिल्लो साता कैलालीको चौमाला क्षेत्र पुगेका कांग्रेस सभापति देउवासमक्ष एकीकृत समाजवादीका नेता तथा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोही क्षेत्रबाट जितेका वीरबहादुर बलायरलाई मन्त्री बनाउन आग्रह गरेका छन् ।
क्याम्पसको कार्यक्रममा सोडारीले अहिलेको प्रदेश सरकारले यो क्षेत्रको विकासमा ध्यान दिएन, त्यसैले बलायरलाई मन्त्री बनाएर विकासका काम अघि बढाउनुपर्छ भनेका थिए । सो कार्यक्रममा बलायर पनि उपस्थित थिए । बलायरकै पहलमा देउवा त्यहाँ पुगेका हुन् ।
कैलाली क्षेत्र नम्बर ४ बाट बलायर संघ र सोडारी प्रदेशको सांसद भए भने उनीहरू कांग्रेस र समाजवादी गठबन्धनबाट जितेका थिए ।
बलायर कांग्रेसको सर्मथनमा दोस्रो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा मन्त्री बन्न खोजेका थिए तर देउवाले नमानेर एनपी साउदलाई बनाए । मन्त्री नबनाएको भनेर बलायर निकै अमर्यादित रुपमा प्रस्तुत भएपछि देउवा अहिलेसम्म रिसाएको चर्चा छ । बलायर कांग्रेसका प्रदेश सभापति पनि हुन् ।
टिप्पणीहरू