मर्निङ वाक, एनजिओ र सुगरका बिरामी

मर्निङ वाक, एनजिओ र सुगरका बिरामी
सुन्नुहोस्

थाइल्याण्डको एक प्रतिष्ठित विश्वविद्यालयबाट मर्निङ वाक गर्नेहरूमा सुगर कत्तिको लाग्छ भन्ने विषयमा पिएचडी गरिरहेका एक नेपाली गोलचक्करमा परेका रहेछन् । उनी सकसमा परेको थाहा पाएर अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख, हाल योजना आयोगका उपाध्यक्ष प्राडा शिव अधिकारीले सोधेछन्, ‘के भयो, निन्याउरो देखिनुहुन्छ नि ! त्यसपछि पिएचडी गरेकाले मनको बह पोखेछन्– डाक्टर साब, म त साह्रै अप्ठेरोमा परें । थेसिस नै पूरा नहुने भयो ! रनाहमा पो परें । के गरौं ? 

बैंककमा बिहान नियमित हिँड्नेहरूबीच गरिएको अध्ययनमा ९९ प्रतिशत व्यक्ति सुगरले ग्रस्त भएको रिजल्ट निस्कियो । यो त होइन होला भन्ठानेर फेरि अनुसन्धान गरेँ । पहिलेकै नतिजा दोहोरियो । गाइडलाई भनें, उनले फेरि अध्ययन गर, यो त उल्टो भयो भने । म त बिलखबन्दमा परेको छु, समय पनि सकिन लाग्यो, अब पिएचडी नै नसकी फर्कनुपर्छ जस्तो पो भयो, के गरुँ ? डा. शिवले आश्चर्य मान्दै भने, ‘यस्तो कहाँ हुन्छ ? मलाई हेर्न दिनुस् तपाईंको अध्ययन !’ अध्ययन प्रतिवेदन पूरै पढेपछि पिएचडी गरिरहेकालाई डा. शिवले भनेछन्, ‘रिसर्च ठीक छ तर मलाई तपाईंको अध्ययनमाथि के शंका लाग्यो भने कतै मर्निङवाक गर्नेहरू सुगर लागिसकेपछि मात्र हिँड्न थालेका त होइनन् ? अब यो पक्ष अध्ययन गर्नुहोस् त !’

नभन्दै डा. अधिकारीले शंका गरेजस्तै थाइल्याण्डमा सबैजसो सुगरले थल्याएपछि हिँड्न थाल्ने रहेछन् । यो जानकारी पक्का भएपछि पिएचडी गर्नेले थेसिस तयार गरे । अनि उनले पास पनि गरे र अहिले त्रिभुवन विश्वविद्यालयमा पढाइरहेका छन् । 

हिजोआज राजधानी काठमाडौंमा पनि मर्निङवाक गर्नेहरूको बगाल जताततै देखिन थालेको छ । तिनको प्रातः भ्रमण सुगरले गाँजेपछि हो कि गाँज्नुअघिकै ? आफू पशुपतिनाथ र बौद्धनाथको बीचजस्तो ठाउँमा बसोवास गर्ने भएकाले कहिले एउटा विश्वसम्पदासूची त कहिले अर्को विश्वसम्पदासूचीमा साँझ–बिहानसँगै घुमफिर गर्न जाँदाका साथी विकास अर्थशास्त्रका प्राध्यापकले सुनाउनुभएको रोचक घटना हो माथिको अनुच्छेद ! त्यसपछि उहाँले सोध्नुभयो, ‘कृष्णमुरारीजी, बौद्धनाथ र पशुपतिनाथ क्षेत्रमा मर्निङवाक गर्न लम्किनेहरूमध्ये कति जनालाई सुगरले गाँजेको होला ? शर्माजीलाई मैले अहिलेसम्म उत्तर दिइसकेको छैन तर त्यसपछि बिहान पशुपतिनाथ क्षेत्रको मृगस्थली, श्लेष्मान्तक वन र ध्रुवस्थली (शिवपुरी बाबालाई समाधिस्थ गरिएको ठाउँतिर नियमित भ्रमण गर्न थालेको छु, कहिले बिहान सबेरै र कहिले ढिला वा साँझपख । अनि त्यहाँ देखिएका चहलपहल, गतिविधि र चर्तिकला देखेर आफैं चकलीभूत भैरहेको छु । त्यसैले त ‘पशुपतिको जात्रा, सिद्राको ब्यापार’ भन्ने लोकोक्ति जन्मिएको रहेछ । हरेक आधाआधा घण्टामा त्यहाँका भाव, भंगीमा र मुद्रामा भैरहने परिवर्तन बग्रेल्ती विद्वानहरूका लागि पिएचडी गर्ने भर्जिन विषय रहेछन् । 

त्यहाँको चहलपहलले, बदलिँदै गरेको नेपालको सपाट चित्र पनि प्रदर्शन गरिरहेझैं लागेको छ । त्यसैमध्ये एउटा हो, मर्निङवाक गर्नेहरूले त्यहाँका गाई, बाँदर, मृग र चराहरू तथा माग्नेमा विकसित गरेको बानीव्यहोरा ! जो एनजिओे र आइएनजिओेको सम्बन्धजस्तै देखियो पनि ।

मर्निङवाक गर्नेहरू आर्यघाटको पुल तरेर मृगस्थलीतिर उकालो लाग्दै गर्दा थरिथरिका आवाजले चिच्याउन थाल्ने रहेछन्, मानौं देवता मस्तसँग निदाइरहेका छन् र उनीहरू देवतालाई ब्युँझाउन प्रयत्नशील छन् ! कोही जयशम्भो, हरिओम, राधेराधे, माते, गुह्ेश्वरी आमा त कोही हेहेहे, हाहाहा, हुहुहुलगायतका आवाज निकालेर मस्त निद्रामा सुतिरहेका देवताहरूका लागि एलार्म घडी बनेर चिच्याइरहेका छन् । मंसिरको चिसो बिहानीमा सिरक ओढेर मस्तसँग घुरिरहेका देवतालाई फुर्तिला मर्निङवाकेहरूको चिच्याहटले कत्तिको ब्युँझाउँछ थाहा छैन तर स्याँस्याँ फ्याँफ्याँ गर्दै हिँडिरहेका मनुवाहरूको चिच्याहट कानमा परेसँगै त्यो क्षेत्रमा रहेका बाँदर, गाई, चरा र बारभित्र रहेका मृगहरूले चनाखो बनेर कान, पुच्छर र आँखा नचाइरहेको देखियो । आवाज सुनेपछि लामबद्ध भएझैं कोही पुच्छर हल्लाउन, बाँदरका बथान त चिच्याउँदै दौडिन, बाच्छाबाच्छी छट्पटिन, साँढेहरू फुइँकिंदै अरुलाई घोच्याउन, कोही मुन्टो बटार्न, मलेवाहरू उड्न लगायतका हरकत शुरु गर्न थाल्ने रहेछन् । 

उनीहरूका यी कृयाकलाप नियाल्न दिवंगत स्वामी प्रपन्नाचार्यको वासस्थानको ढोकानिरबाट हेर्दा बाँदर, गाई र चराहरू लामबद्ध बनेर पर्खिरहेका देखिने परछेउको गोरखनाथ बाबाको मन्दिरसम्मै । यी सब क्रियाकलाप देख्दा मेरो मनमा आइएनजिओे प्रोजेक्ट बाँड्न आइरहेका र एनजिओेहरू आँ मुख बाउँदै सलबलाएझैं लागिरह्यो । सँगै बसिरहेका साथीलाई भनें पनि वाक गर्दै सुगरका बिरामीले खान नहुने बिस्कुट, गुलिया बासी रहलपहल र पाकेर गिलित्त भएका केराजस्ता वस्तुहरू बाँड्ने डोनर हुन् र तिनबाट सामान फुत्काएर हात पार्न कुदिरहेका जनावरहरूचाहिँ मृगस्थलीका एनजिओेहरू जस्ता पो लागे ! 

एनजिओे भन्नाले परचक्रीको पैसाले स्वदेशको (खासमा आफ्नै) विकास गर्ने संस्था भन्ने बुझिन्छ । एनजिओेहरू, आइएनजिओेको खर्चमा परिचालन हुने स्वदेशी संस्था हुन् । जो सरकारी हुँदैनन् । यिनीहरू गैरसरकारी संस्था हुन् जो सरकारबाट स्वतन्त्र हुन्छन् । यिनीहरू मानवीय कार्यहरू मात्र होइन, सरकारको विकास लक्ष्यका मददगार पनि हुन् । मर्निङवाकेहरूबाट पोषित गाई, बाँदर पनि गैरसरकारी समूहमा असंगठित प्राणी त हुन् । एनजिओेलाई देशका नागरिकहरूले मिलेर संस्थागत बनाएका हुन्छन् । भनिन्छ, यिनले स्थानीय मुद्दाहरूलाई संबोधन गर्न दाता वरिपरि परिक्रमा गर्छन् । पशुपतिनाथ क्षेत्रका गाई, बाँदर र चराचुरुंगीले पनि आफ्ना भोकका मुद्दाहरू संबोधन गर्न दाता वरिपरि परिक्रमै गर्दा रहेछन् । 

आइएनजिओे भनेका त्यस्ता संस्था हुन् जो एउटा देशमा त आधारित हुन्छन् तर अर्को देशमा विकासका कार्य परिचालन गर्दछन् । मर्निंगवाकेहरू पनि अर्कै थलोमा बस्छन् र यहाँ आएर स्रोत परिचालन गर्छन् । आइएनजिओेसँग खर्च गर्ने धेरै क्षमता हुन्छ, जो मर्निङवाकेहरूमा पनि हुन्छ । आइएनजिओेहरू ब्यापक क्षेत्रबाट धन संकलन गर्दा रहेछन् । त्यसभित्र सर्वसाधारणदेखि सरकार, व्यापारी, उद्योगपति, धनवान, मनकारी आदि पर्दछन् । मर्निङवाकेहरूमा पनि यही स्वभाव देखियो ।

भनिन्छ, नेपालमा ६० हजार बढी एनजिओे छन् । कुनै पनि संस्था जो विकासको क्षेत्रमा काम गर्न चाहन्छन् उनीहरूले स्थानीय सरकारबाट सर्वप्रथम स्वीकृति लिनुपर्छ । तर मर्निङवाकेहरूले स्व–स्वीकृति आफैंबाट लिनुपर्छ त्यो भनेको मृगस्थली र श्लेषमान्तक बनमा पुग्नका लागि हातपाउ चल्न सक्ने हुनुपर्छ । एनजिओे र आइएनजिओेहरू गैरनाफामूलक हुनुपर्छ, तर मर्निङवाकेहरू पशुप्रेमी र धार्मिक आस्था भएका हुनुपर्छ । एनजिओे÷आइएनजिओेलाई दीगो विकास, गरिबी न्यूनीकरण र सामाजिक विकासको पर्याय मानिन्छ । यिनले सरकारले प्राथमिकता दिएका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, लैंगीक समानता र सुशासनमा सहयोग गरेर बल पुर्‍याइरहेका हुन्छन् भन्ने गरिन्छ । मर्निङवाकेहरूलाई कसले के भन्छन् थाहा छैन तर पशुपंछीहरूका लागि भने उनीहरू आइएनजिओे हुने गरेका छन् । यसरी मर्निङवाक गर्नेहरू बिस्कुट, केरा, सेल, पाउरोटी, जेरीस्वारी, हलुवा, स्याउ, सुन्तला, डुनट, केक, अन्न, गेडागुडी मृगस्थलीका गाई र मृग अनि श्लेषमान्तकका बाँदरलाई खुवाएर धर्म सञ्चिति गरी आफूले गरेका पापबाट आफ्नो वंश मोचन होइने ठान्दा रहेछन् । साँच्ची उनीहरूमध्ये कति प्रतिशतलाई सुगरले गाँजेको होला ? यसवारे कोही पिएचडी पनि गर्दैछन् कि ? 

सँगै रहेका साथीलाई सोधें, उनले त झन् यसो पो भने– मर्र्निङवाक नै नेताजीहरूको निजी निवाससम्म गर्ने अपराधी, डन, माफिया, बिचौलिया, दलाल, तस्कर, ठेकेदारमा सुगरको अवस्था कस्तो होला ? उनीहरूकै कमिसनमा रमाएर फाइल बोकेर हिँड्ने एनजी/आइएनजिओेकर्मीजस्ता नेतामा सुगरको मात्रा कति पुगेको होला ? उनले त मलाई पो सोधे, यो पनि अर्को पिएचडीको विषय नबन्ला र गुरुजी ? त्यसपछि भने, ‘यो अध्ययन त हाम्रा विश्वविद्यालयका मानवशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र र जनस्वास्थ्यका प्राध्यापकहरूलाई अर्को पिएचडी गर्ने विषय पो बन्छ त ! बैंककमा विद्यावारिधि गरेर फर्किएका उनै डाक्टरलाई थप सोधकार्य गर्ने विषय पो मिल्यो त !’ उनले यसो भनिरहँदा आफ्नो मनले भने यसवारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिव अधिकारीजीको विचार जान्न चाहिरह्यो ! 
 

टिप्पणीहरू