आरजू म्याडम डेढ सातासम्म विदेशमै

आरजू म्याडम डेढ सातासम्म विदेशमै
सुन्नुहोस्

परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा गत शनिबार नेदरल्याण्ड्सको राजधानी हेग जानुभयो र अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्वबारे झण्डै एक सय मुलुक सहभागी कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने औपचारिक चीन भ्रमण टोलीको सदस्यका रुपमा बेइजिङबाट फर्केको पर्सिपल्टै उहाँ युरोप जानुभएको हो । केही दिनका लागि हेग जानुभएकी परराष्ट्रमन्त्री यही मेसोमा युरोपका केही मुलुक र त्यतैबाट भारत जान लाग्नुभएको बुझिएको छ । 

हेगबाट जर्मनी र बेल्जियमको भ्रमण गर्ने अनि उहाँ त्यतैबाट दिल्ली पुग्ने कार्यक्रम तय हुँदै गरेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । ‘उहाँले बर्लिनमा एउटा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ’, स्रोत अगाडि भन्छ, ‘त्यहाँबाट नयाँ दिल्लीमा हुने अर्को एउटा कार्यक्रममा पनि सहभागी हुने तालिका बनेको छ ।’

साउथ एसियन इकोनोमिक फाउण्डेसनले नयाँ दिल्लीमा आगामी साता ‘इण्डो नेपाल इकोनोमिक कन्क्लेभ’ आयोजना गर्दैछ । सोही क्रममा भारतीय विदेशमन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट हुने अनुमान छ ।

प्रधानमन्त्रीको चीन भ्रमण क्रममा भएको बिआरआई कार्यान्वयन सहमतिको हस्ताक्षरलाई लिएर भारतलगायत पश्चिमा सञ्चार माध्यमहरुमा चर्को प्रतिक्रिया आइरहेका छन् । गत आइतबार काठमाडौं आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले राजनीतिक दलका नेता तथा उच्च पदस्थ सरकारी अधिकारीहरुसँग त्यसबारे विशेष चासो राखेको बताइन्छ । लु सोमबार राति दुबई हुँदै अमेरिका उडेलगत्तै मंगलबार अपरान्ह परराष्ट्र मन्त्रालयले उक्त सहमतिको दस्तावेजलाई आफ्नो वेवसाइटमा अपलोड गरेको थियो ।

टिप्पणीहरू