टुँडिखेलमा काठमाडौं महानगरको सांगीतिक कार्यक्रम, प्रवेश र पार्किङ निःशुल्क
काठमाडौं महानगरपालिकाले ‘३० औं महानगर दिवस’ विविध कार्यक्रम गरी मनाउने भएको छ । महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउन तयारी थालेको छ ।
विगतका वर्षमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष सांगीतिक कार्यक्रममा प्रस्तुति थप गरिएको महानगरले जनाएको छ । औपचारिक कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुने बताइएको छ ।
सांस्कृतिक तथा सांगीतिक कार्यक्रम अपरान्ह ३ बजेदेखि टुँडिखेलमा हुने छ । कार्यक्रममा निःशुल्क प्रवेशसँगै पार्किङ्गको समेत व्यवस्था मिलाइएको जनाइएको छ ।
कार्यक्रममा स्थानीय मौलिक झाँकी प्रदर्शनी, विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वलाई सम्मान, मौलिक खानाको प्रवद्र्धनका लागि फुड स्टल, एक वडा एक नमूना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी गरिनेछ ।
त्यस्तै, सांगीतिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, एकदेव लिम्बू, सुगम पोखरेल (व्याण्ड), केहर लिम्बू एण्ड जोइ व्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्टसहितको प्रस्तुति हुनेछ ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग काठमाडौं महानगरको इतिहास हो । २०५२ मंसिर २९ गते काठमाडौं नगरलाई महानगर घोषणा गरिएको थियो । सोही बेलादेखि उक्त दिन महानगर दिवस मनाउने गरिएको छ ।
टिप्पणीहरू