पत्रकारको चुनावमा सत्ताको दुरुपयोग भएको दावी

पत्रकारको चुनावमा सत्ताको दुरुपयोग भएको दावी

नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लागेको छ । 

नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनले सत्ता गठबन्धनमा आवद्ध पत्रकार संगठनले राज्य सत्ताको बलमा मत गणना प्रभावित पार्न महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको भन्दै आपत्ति जनाएको हो । सो संगठनद्वारा जारी विज्ञप्तिमा उम्मेदवार बनेका व्यक्तिहरूबाटै केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुलाई आफूहरूले गम्भीररुपमा लिएको उल्लेख छ ।

‘निर्वाचन समितिले मत प्रविष्ट गराइरहँदा राज्यसत्ताको दुरुपयोग गर्दै प्रहरीको कमाण्डसहित केन्द्रीय कार्यालय पुगेर मतगणनामा सरिकहरूलाई पनि बाहिर निकालेर तालाबन्दी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कैयौँ उम्मेदवारहरू पनि भएको अवस्थामा एकाएक तालाबन्दी गर्ने र मतगणना प्रभावित पार्ने सत्ता गठबन्धनको अभ्यासका विरुद्ध हामी खेद प्रकट गर्दछौँ ।’

यस्तै, अछाममा मतगणना भइरहँदा सुदूरपश्चिम प्रदेश समितिमा महासचिवका उम्मेदवार हरि जोशी जित्ने निश्चितता भएपछि प्रतिनिधि नराखी एकलौटी मतगणना गरेर राज्यसत्ताको दुरुपयोग गर्ने काम भएको समाजवादी प्रेस संगठनको जिकिर छ । 

विज्ञप्तिमा अर्को मतगणनाका लागि विभिन्न संगठनहरुले गरेको निवेदनमा तत्काल सुनुवाइ गर्न माग गरिएको छ । अन्यथा प्रतिवादमा उत्रने उसले चेतावनी दिएको छ ।

टिप्पणीहरू