चीन सम्झेर दुखेको प्रधानमन्त्रीको चित्त

चीन सम्झेर दुखेको प्रधानमन्त्रीको चित्त

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्वको आलोचना भएकोमा घुमाउरो असन्तुष्टि जनाउनुभएको छ ।  

केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र बिमति जनाउने तर सही बाटो पहिल्याउन नसक्ने प्रवृत्ति देखा परेको टिप्पणी गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टान्त दिँदै ओलीले त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने स्मरण गराउनुभयो ।

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको संघर्ष, सफलता र वर्तमान चीनको तीव्र आर्थिक विकासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ओलीले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्नेमा जोड दिनुभयो । 

चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादी यात्रा थालेको उल्लेख गर्दै उहाँले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको दावी गर्नुभयो ।

'हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन । समाजवाद र राष्ट्रवादको महान उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम रूप दिन सुरुवातदेखि नै लाग्दै आएको छ,' ओलीले भन्नुभयो ।
 

टिप्पणीहरू