देउवाले कसलाई बुझाउलान् त्यो पद !
‘मैले कोइरालाहरूबाटै सभापति लिएको हुँ, पर्यो भने उनीहरूलाई नै फर्काउँछु’, कांग्रेसभित्र लामो समय कोइराला परिवारको निकट रहेर राजनीति गरेका र १४औँ महाधिवेशनमा शेखर कोइराला (नोना कोइरालाका छोरा)लाई हराएर सभापति निर्वाचित भएका शेरबहादुर देउवाले भित्रियाहरूसँगको कुराकानीमा यस्तो बताउने गरेका छन् ।
कांग्रेसको विधानमा निरन्तर दुई पदावधिभन्दा बढी सभापति हुन नपाउने प्रष्ट व्यवस्था रहेकाले १५ औँ महाधिवेशनमा देउवा नउठ्ने निश्चित छ । १३ औँ महाधिवेशनमा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई हराउँदै उनी पहिलो पटक सभापति चुनिएका थिए । विधानतः पुनः उम्मेदवार बन्न नपाए पनि पार्टीमा संस्थापन पक्षको बर्चस्व रहेकाले देउवाले चाहेकै व्यक्ति सभापति हुने लगभग पक्का छ । तर, अहिलेसम्म संस्थापन पक्षबाट सभापतिको सम्भावित उम्मेदवार प्रष्ट छैन । जबकि शेखर र महामन्त्री गगनकुमार थापाले आ–आफ्नो तयारी गरिसकेका छन् ।
कांग्रेसमा संस्थापन पक्षबाट देउवाले कसलाई अघि सार्लान् ? ‘कोइराला परिवारको नासो उनीहरूलाई नै फर्काउने’ अभिव्यक्ति कता लक्ष्यित छ ? देशकै सबैभन्दा ठूलो दलको आन्तरिक राजनीतिले सिंगो राष्ट्रिय राजनीतिमा प्रत्यक्ष–परोक्ष प्रभाव पार्ने भएकाले यो चर्चा र बहसको विषय बनिरहेको छ ।
०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको ४ वर्षे कार्यकाल अर्को वर्ष मङ्सिरमा सकिँदै छ । सभापतिलाई ६ महिनासम्म कार्यकाल लम्ब्याउन विधानले दिएको अधिकार देउवाले प्रयोग गरे पनि ढिलोमा २०८३ जेठसम्ममा १५ औँ महाधिवेशन गर्नैपर्ने हुन्छ । पछिल्लो केन्द्रीय समिति बैठकले निर्धारित मितिकै निर्णय गरिसकेकाले सम्भवतः २०८२ मंसिरमा महाधिवेशन हुनेछ ।
एकातिर विधानको बाध्यकारी व्यवस्था, अर्कोतिर उमेरका कारण देउवा तेहरिन पाउने छैनन् । यो स्थितिमा देशकै पुरानो पार्टीको नेतृत्व कसले हात पार्ला ? आफू प्रधानमन्त्री भएकै बेला महाधिवेशन गरेर अनुकूल पात्रलाई पार्टी जिम्मा लगाउने देउवाको रणनीति छ । तर, संस्थापन खेमामा उनको उत्तराधिकारीका रूपमा अहिलेसम्म उपयुक्त पात्र देखिएका छैनन् । यसअघि पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, बिमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्कीलगायत चर्चामा थिए । तर, नक्कली भुटानी प्रकरणसँगै खाँणको राजनीति लगभग अन्त्य भैसकेको छ भने टेरामक्स घोटालामा मुछिएका कार्की पनि नैतिक संकटमा छन् ।
सहमहामन्त्री, महामन्त्री हुँदै उपसभापति भएका देउवाका विश्वासपात्र खड्कालाई दिइन्न भनिन्छ । उनले आफू निकटलाई पदाधिकारीमा सेट गराएर अर्को कार्यकाल राष्ट्रपति खाने अपेक्षा राखेको बुझिन्छ । त्यसैले अलग्गै भेला, बैठक र देश दौडाहा गरेका छैनन् । संस्थापन पक्षबाट सभापतिको दाबेदार ठानिएका विमलेन्द्र निधिको पनि सम्भावना देखिंदैन । किनभने १४ औँ महाधिवेशनमा प्रतिष्पर्धी बनेका उनले देउवाको विश्वास गुमाइसकेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौला स्वतः सभापतिको दौडबाट बाहिर छन् । लामो समय कोइराला खेमाको नेतृत्व गरेका पौडेलले १४औँ महाधिवेशनमा देउवालाई भित्रभित्र सघाएका थिए भने सिटौलाको खुलेरै समर्थन थियो ।
यता, इतर खेमाबाट चाहिँ शेखर कोइराला र गगन थापाले भित्रभित्रै दाबेदारी प्रस्तुत गरिसकेका छन् । अघिल्लो पटक पराजित शेखरले आन्तरिक तयारीसमेत थालिसकेको देखिन्छ । देशभर पार्टीको सांगठानिक अवस्था बुझ्न र आफ्नो पक्षमा माहोल बनाउन उनीपक्षीय युवा नेताहरू देश दौडाहामा छन् । संस्थापनबाट उपयुक्त पात्र अघि नसारेको अवस्थामा देउवाकै समर्थन लिएर नेतृत्व हात पार्ने रणनीतिमा रहेका गगन भने खुलिसकेका छैनन् । देउवाको सबैभन्दा खरो आलोचक रहँदै आएका उनी अहिले ‘अबको प्रधानमन्त्री देउवा’ भन्दै हिँडेका छन् ।
पहिलो पटक केन्द्रीय सदस्य उठेर हारेका र दोस्रो पटक सबैभन्दा बढी मतसहित महामन्त्री जितेका गगन कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् । तर, देउवाको साथ नपाए जित्न सकिँदैन भन्ने उनलाई राम्रोसँग थाहा छ । पछिल्लो समय सभापतिसँग निकटता बढाउन सरकारको आलोचना गर्न छोडेका छन् भने घोषणापत्र लेखन कार्यदलको सदस्य हुँदै सत्ता गठबन्धन र बिआरआइ कार्यान्वयन कार्यदलको बैठकमा उपस्थिति जनाइरहेका छन् ।
तर, ‘कोइरालाको नासो उनीहरूलाई नै फर्काउने’ देउवा अभिव्यक्तिले पूर्वमहामन्त्री तथा विपीपुत्र सशांक कोइरालालाई सभापतिमा समर्थन गर्ने संकेत दिएको कांग्रेसको राजनीतिलाई नजिकबाट बुझेकाहरू बताउँछन् ।
देउवाले पार्टीभित्र चाल्ने कदम सत्ता गठबन्धनको निरन्तरतासँग पनि अन्तरसम्बन्धित रहनेमा शंका छैन । गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले कांग्रेसको आन्तरिक राजनीतिको प्रभाव सरकारमा पनि पर्ने छ । जस्तो, आलोपालो प्रधानमन्त्री खाने ओली र देउवाबीच गत असार १७ गते मध्यरात भएको सहमति कार्यान्वयन हुँदा २०८३ असारमा देउवा प्रधानमन्त्री हुने छन् । तर, त्यसअघि नै महाधिवेशन हुँदा सभापति रहँदैनन् । त्यस्तो अवस्थामा उनलाई प्रधानमन्त्री बन्न सहज नहुन सक्छ । त्यसकारण अर्को वर्षको मङ्सिरमै महाधिवेशन हुन्छ भन्नेमा कांग्रेस नेताहरू ढुक्क छैनन् ।
आफू प्रधानमन्त्री भएका बेला महाधिवेशन गरेर अनुकूल पात्रलाई नेतृत्व हस्तान्तरण गर्ने र त्यसका लागि जुनसुकै मूल्यमा गठबन्धन जोगाएर जाने देउवाको रणनीति उनीनिकट एक नेताले सुनाए । सरकारप्रति आमरूपमा यतिधेरै असन्तुष्टि चर्किंदा पनि कांग्रेसपंक्ति खुलेर नबोल्नुको कारण यही हो भन्छन् उनी ।
‘टुँडिखेल र दशरथ रंगशालामा युवाहरूले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउन थालिसके । सरकार झन्–झन् अलोकप्रिय बन्दै छ । प्रधानमन्त्रीका अभिव्यक्तिहरू हामीलाई पनि चित्त बुझेको छैन । तर, हाम्रो सभापति उल्टै सरकारले राम्रो गरेको छ भन्दै बचाउ गर्नुहुन्छ’, ती नेता भन्छन्, ‘यो गठबन्धन टुट्यो भने कम्युनिष्टहरू मिल्छन् र आफू प्रधानमन्त्री हुन पाउँदिन भन्ने डरमा उहाँ हुनुहुन्छ ।’
देशी–विदेशी षड्यन्त्र शुरु भयो भनेर सञ्चारमन्त्रीले पनि भनिसकेको स्थितिमा केही गडबडको आंकलन त छ तर ‘देउवा दाहिना’ हुँदासम्म ओलीको सत्ता हल्लिने सम्भावनै छैन । संसदीय व्यवस्थामा सरकार फालिने दुइटा विधि छन् । एउटा संसदीय प्रक्रिया । अर्को सडक आन्दोलन । अहिले समाजिक सञ्जालमा सरकारप्रति चर्को आक्रोश भए पनि त्यसले सडक संघर्षको रूप लिइहाल्ने देखिंदैन । अर्कोतिर, शेखर कोइराला कांग्रेस संसदीय दलको नेता बनेर च्यालेञ्ज गर्ने सम्भावनाको पनि अन्त्य भएको छ । गगन थापालाई हात लिएर देउवाले परिस्थिति क्रमशः आफ्नो अनुकूल बनाएको देखिन्छ ।
२००३ सालदेखिको इतिहास हेर्दा कांग्रेसले सरकारको नेतृत्व गरेका बेला पार्टी सभापति नै प्रधानमन्त्री भएका छन् । बिपी कोइराला, मात्रिका कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्म आइपुग्दा सभापति नै दलको नेता र नेता नै प्रधानमन्त्री भएको इतिहास छ । त्यसैले १५ औँ महाधिवेशनपछि कांग्रेसमा को सभापति बन्ला र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पर्ला ?– राजनीतिक वृत्तमा यो चासोको विषय बनेको छ ।
टिप्पणीहरू