जति कसे पनि कर्मचारीले काण्ड मच्चाउन छाडेको हैन !

जति कसे पनि कर्मचारीले काण्ड मच्चाउन छाडेको हैन !

अर्थ मन्त्रालयमा निकै बर्ष बिताएका सहसचिव चण्डीप्रसाद घिमिरे राजस्व अनुसन्धान विभागको महानिर्देशक छन् 

राजस्व अपचलनविरुद्ध 'पुलिसिङ' गर्ने निकाय राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा छ । 

सोमबार कार्यालय समयपछि पनि चेम्बरमा व्यस्त रहेका उनले विभागको जिम्मेवारी सम्हालेपछि केही सुधारको प्रयास थालेको फेहरिस्त सुनाउँदै भने- विगतमा भन्दा अहिले काम गर्ने राम्रो वातावरण छ । 

घिमिरेका अनुसार भन्सार नाकामा राजस्व छलीको सामग्री थुपारेको सूचना आएपछि तत्काल गोदाम तथा पसलमा छापा मारेर शिलबन्दी गर्ने,अनुसन्धान अघि बढाउने र अदालतमा मुद्दा अभियोजनका लागि पठाउने काम अघि बढिरहेको छ । त्यस्ता घटना केही अनुसन्धानकै क्रममा रहेको र कतिपय मुद्दा अभियोजनका लागि अदालत पठाउने अन्तिम तयारीमा रहेको उनले बताए  ।  

सुनसरीमा भन्सार छलेर नेपाल भित्र्याइएको ठूलो परिमाणको कपडा बरामद गर्नेदेखि विभागको अनुमतिपछि कोहलपुर र इटहरीमा कारबाही प्रक्रिया अघि बढेकोवारे पनि उनले चर्चा गरे । राजस्वको पथलैया कार्यालयले भारतीय लाहुरेबाट झिटी-गुण्टाका नाममा हुने राजस्व अपचलनसम्बन्धी घटनाको अनुसन्धान सम्पन्न गरी यसैसाता पाँच करोड बिगो मागदावी गर्दै मुद्दा अदालत लैजाने तयारी भइरहेको पनि बुझिएको छ ।

विडम्बना !, ‘तैँ चुप मैँ चुप’ को अवस्था आउँदा राजस्व छलीको यति ठूलो घटना त्यसै 'फासफुस' भयो ।

घिमिरेले अघिल्लो साता रसुवागढी भन्सार नाकाबाट एजेन्ट र ढुवानी कम्पनीको मिलेमतोमा भएको राजस्व छलीको एउटा मालवाहक ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए । यसमा मुछिएका भन्सारका केही कर्मचारीसमेत कारवाहीमा तानिएका छन् । रसुवागढीसहित अन्य भन्सारमा यो प्रक्रिया नियमित चलिरहने उनको भनाई छ । त्यस्तै,आरती सन्स नामक एउटा व्यापारिक फर्मविरुद्ध पनि राजस्व छलीको मुद्दा हाल्ने तयारी छ ।

विगतमा तस्कर कारबाहीमा पर्ने तर मतियारलाई हाइसन्चो हुने अवस्थाका कारण विभाग आलोचित हुने गरेको थियो । राजस्व छली वा तस्करीका अधिकांश घटनामा राजस्व र भन्सारका कर्मचारी नै संलग्न रहने गरेको आरोप लाग्ने गर्थ्यो । अमेरिकन कम्प्युटरसम्बन्धी संस्था कोटिभिटीको सन्दर्भमा राजस्वका दर्जनौँ पहुँचवाला कर्मचारी र कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीलाई योजनावद्ध 'सुनपानी छर्केर' चोख्याईएको थियो । नेपाली मूलका अमेरिकी नागरिकले सन्चालन गरेको उक्त कम्पनीले अर्बौं भन्सार छलेको आरोप थियो । राजस्व अनुसन्धानको अनुसन्धान निर्क्यौलले आरोपित कर्मचारीविरुद्ध कारवाहीका लागि अख्तियारमा लेखी पठाउन सिफारिस गरेको थियो । तर, विडम्बना !, ‘तैँ चुप मैँ चुप’ को अवस्था आउँदा राजस्व छलीको यति ठूलो घटना त्यसै 'फासफुस' भयो । 

घिमिरेले केही कर्मचारी कारबाहीमा पर्न सक्ने संकेत गरेका छन् । तत्कालीन महानिर्देशक दीर्घ मैनालीको पालामा नेपालगञ्जको एक कर्मचारी प्रसंग जोड्दै उनले पथलैयामा नियन्त्रणमा लिइएको झिटी-गुण्टाको सन्दर्भमा कर्मचारीको पनि संलग्नताको आशंका गरे ।

त्यस्तै, प्रशासनिक सुधारका लागि पनि ठोस कदम चाल्ने उनको योजना छ । पुराना फाइलहरु व्यवस्थित नगरिंदा खोजेको बेला रेकर्डसमेत भेटाउन नसक्ने भद्रगोल अवस्थाले विभागमा 'इन्स्टिचुस्नल मेमोरी' को अभाव खड्किने गरेको छ । 

घिमिरेले 'मुहान सफा भए धारा आफैं सफा हुने' भएकाले जिम्मेवार निकायहरु यसमा संवेदनशील हुनुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्रीको सचिवालय, मुख्यसचिव,मन्त्रीलगायत कसैबाट कुनै पनि घटनामा आफूलाई दबाब नआएकाले काम गर्न सजिलो रहेको दावी गरे ।

कुनै समय राजस्व अनुसन्धान विभागका महानिर्देशक आत्माराम पाण्डेभन्दा निर्देशक भरतराज सुवेदी पावरफुल मानिन्थे । त्यतिबेलाका अर्थमन्त्री डा. रामशरण महत र काँग्रेस नेतृ सुजाता कोइरालाको संरक्षणमा असुली धन्दा चलाएको उनीमाथि आरोप थियो । राजनीतिक नेतृत्वको संरक्षणमा अराजकता मच्चाएका सुवेदीलाई महानिर्देशक पाण्डेले नियन्त्रणमा राख्न सकेनन् । अहिले पनि अर्थमन्त्री विष्णु पौडेलसँग नजिक रहेको गफ लगाएर चुरीफुरी गर्ने प्रवृत्ति पूर्णत: रोकिएको छैन । पहिले एमालेबाट गाविस अध्यक्ष रहेका र पछि निजामतीमा प्रवेश गरेका ती कर्मचारी आलोचनाको पात्र बन्दै आएका छन् ।

टिप्पणीहरू