जिबीका हकमा गाँठो कहाँनेर फुकेन
मलेसियन सरकारसँग रेसिप्रोसिटी र स्पेशियालिटीको विषयलाई लिएर नेपाली पक्ष गम्भीर नभएकाले सहकारी ठगीको अभियोग लागेका मुख्य व्यक्ति गितेन्द्रबाबु उर्फ जिबी राईलाई मलेसियाबाट खोजेर ल्याउने काम हुन नसकेको बुझिएको छ । नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयले मस्यौदालाई अन्तिम रुप दिँदै परराष्ट्र मन्त्रालयमार्फत जुन प्रकारको सम्बन्ध र सहकार्य भन्ने हवालासहित पत्राचार गरिएको थियो त्यसको कार्यान्वयनमा भने समस्या आएबाट यो कुरा छर्लंग हुन्छ ।
त्यस्तो पत्रको जवाफ एस वा नोमा हुने गर्छ । तर क्वालाम्पुरस्थित नेपाली दूतावासले यस्तो पत्रबारे त्यहाँको सरकारसँग फलोअप नगरेको दाबी स्रोतको छ । अहिलेसम्म पनि मलेसियन सरकारले कुनै प्रतिउत्तर नफर्काएको अवस्था छ । त्यसो त उनको पार्टनर रवि लामिछानेसँग विभिन्न ठाउँका पाँच सहकारी ठगी गरेकोबाहेक स्रोत नखुलेको करिब २७ करोड ७२ लाख रूपैयाँ रहेको दाबी स्रोतको छ । यत्रो रकम उनले कसरी आर्जित गरे वा कता खर्चिए भन्ने विषयको थप अनुसन्धान हुन भने बाँकी नै छ । सहकारी विज्ञहरूका अनुसार कसले कति खायो भन्दा पनि यसरी आमनागरिकले राखेको पैसा खान मिल्छ कि मिल्दैन भन्ने प्रश्नले ठाउँ पाउनुपर्छ । सडक र सामाजिक सञ्जालमा रवि रवि भनेर कराउने र उनका प्रशंसक स्वदेशी विदेशीले एक दुई करोड रूपैयाँ त चन्दा उठाएरै पनि तिर्न सक्छन् । यसबीर्च लामिछानेमाथि लागेका विभिन्न अभियोगको छानबिनका क्रममा मुख्य कुरा सरकारले नजरअन्दाज गरेको देखिन्छ । लफडाको दलदलमा डुबेर पनि यति चर्को स्वरमा उनले थर्काइरहेका छन् ।
यसबीच लामिछानेकी धर्मपत्नी निकिता पौड्यालले दक्षिणतर्फका केही नेता तथा व्यवसायीसँग केश मिलाउन र उनलाई रिहा गराउन आग्रह गर्दै भेटघाटलाई तीव्रता दिइन् । उपसभापति डिपी अर्यालले पनि कसको पहुँच कतातिर छ, त्यस्तो सम्बन्ध भएका नेता तथा ब्युरोक्र्याट्सहरूसँग सघन रूपमा भेटघाटको क्रम बढाएका थिए । यो टोलीले दूतावाससँग निकटस्थ भनिएका राई स्कुलवाला कृति पाण्डेलगायत धेरै जनासँग भेटघाट गरेका छन् । रास्वपाबाट निश्कासित महामन्त्री डा. मुकुल ढकालले पहिला पनि लामिछानेले भारतीय दूतावाससँग धेरै थोक दिने बाचा गरेको भनेकै थिए । तर सांसद स्वर्णिम वाग्ले भने यस्तो दौडधुपमा खासै देखिएका छैनन् । अहिले रास्वपाभित्र सबैभन्दा चर्को बोल्नेमा मनीष झा र गणेश पराजुली देखिन्छन् । यी दुवै कुनै पनि विषयको गहिराइसम्म नपुगी लगातार कानुनको विपक्षमा बोल्दै भक्तिभावमा डुबेको प्रष्ट देखिएको छ ।
प्रसाईंको दिन सकिएकै हो त ?
उता, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिखेर निकै कमजोर देखिएका छन् । भारतको तिहाड जेलमा कैदी जीवन बिताइरहेका लरेन्स बिस्नोइको नामबाट नेपालका विभिन्न व्यक्तिलाई धम्क्याउने नविन प्रधान भनिने हरिश्चन्द्र फुयाँलसँग प्रसाईंको कनेक्सन देखिएपछि र उनकै डिजाइनमा धम्क्याउने गरेको रहस्य खुलेपछि उनी स्वतः प्रतिरक्षात्मक अवस्थामा पुगेका हुन् । अदालतले पनि पहिला पहिला बन्दी प्रत्यक्षीकरणका नाममा प्रसाईंलाई तुरुन्तै छोड्न आदेश दिन्थ्यो तर अहिले भने स्थिति बिल्कुलै फरक छ ।
उनी व्यक्तिगत गालीगलौजमा नउत्रिने हो भने उनीमाथि कसैको ध्यान नै पुग्दैन्थ्यो । उनीजस्तै सामाजिक सञ्जालमार्फत् विभिन्न अभियान सञ्चालन गर्दै बस्ने धेरै ‘अभियन्ता’ छन् । आफू ठीक ठाउँमा नहुने तर जो–कोहीलाई गाली गर्दै हिँड्ने बानीकै कारण प्रसाईंले दुःख पाएका हुन् । गलत मान्छेले अर्कालाई गाली गरेको सुहाउँदैन भन्ने कुरा यसैबाट छर्लंग हुन्छ । पहिलापहिला मेडिकल माफियाविरुद्ध भन्दै डा.गोविन्द केसीलाई उचालेर पुरै ध्वस्त बनाउने पनि यिनै हुन् ।
एकताका डा.केसीलाई भगवान मान्नेहरु पनि थिए । तर अहिले उनलाई शिला खोजेजस्तो खोज्नुपर्ने बेला भएको छ । जिउँदो छन् कि बितिसके केही पनि थाहा नभएजस्तै अवस्था छ । त्यसैले ‘अभियन्ता’ वा ‘अभियान’ चलाउनेहरूको आयु खासै लामो नहुने पक्का छ । नेपाली जनताको स्मरणशक्ति अलिक छोटो हुने गरेको छ । पक्राउ परेका प्रसाईंका सहयोगी इलामतिर ट्यांकर र घैंटोमा दुग्ध संकलन गर्दै बेच्ने गर्थे । भारतमा दूध बेचेर भारतबाटै धम्क्याउने गर्थे । दुनियाँलाई धम्क्याएर करोडौं उठाउने लाख बाँडेर दुनियाँको उद्धार गरेको नाटक देखाउने यस्तै पात्र हुन् ।
टिप्पणीहरू