रविविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, साढे एक अर्ब बिगो
सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले तीनवटा कसुरमा आज जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक लामिछाने र उपाध्यक्ष पूर्वडिआइजी छविलाल जोशीसहित ४४ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग लगाइएको छ । अन्य ५ जनालाई भने बिगोअनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागी मात्र प्रतिवादी कायम गरिएको छ।
जिबी राईकी प्रेमिका भनिएकी लिला पछाई र विश्वविक्रम राईविरुद्ध भने अवैध क्रिप्टो कारोबारको कसुरमा पनि अभियोग पेश गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
प्रतिवादीहरुविरुद्ध कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार विगोसहित कैद सजायको मागदावी गरिएको छ । मुद्धा दर्ताको क्रममा लामिछाने र जोशीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।
सहकारीका तत्कालीन अध्यक्ष जिबी राई र वर्तमान अध्यक्षसहित १९ जनाविरुद्ध भने अस्ति (शुक्रबार) नै अभियोग पत्र पेश भइसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले तीन महिनाको प्रारम्भिक अनुसन्धान सकाएर ५१ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गर्न रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । सोही बमोजिम मुद्धा दर्ताको प्रक्रिया अघि बढेको हो ।
जिबी राई समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जसमध्ये ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी , पछाईंं, राम बहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका छन् ।
टिप्पणीहरू